images

२०८३ आश्विन २ गते

images
images
images

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • बागलुङ । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ ।बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यस पटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फुलेका रङ्गीबिरङ्गी वनफूलका कारण ढोरपाटनको छुट्टै रौनकता थपिएको छ ।

    images
    images

    ढोरपाटनको फाँट र पाखा अनेक थरिका बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा समेत उत्तिकै पर्यटक आएको पाइएको छ । बर्खामा ढोरपाटन पुग्ने मुख्य कारण भनेको सयौँ थरिका रङ्गीबिरङ्गी फूल रहेको छ ।स्थानीय ढोरपाटन सामुदायिक घरबासका सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन ‘गुल्जार’ बनिरहेको बताए ।

    ‘बर्खामा ढोरपाटन आउने सडक असहज छ तर यहाँको मनोरम दृश्यले पर्यटकको सडक यात्रा बिर्साउने गर्दछ, यस्तो बर्खामा समेत आफ्नो घरबासमा पाहुनाको कमी छैन, पछिल्लो दुई हप्तायता मौसममा सुधार भएसँगै बुकी पुग्ने पदयात्रीले घरबास भरिएर अन्य होटलमा पठाउन बाध्य भएको छु’, घर्तीले भने, ‘यहाँको मुख्य विशेषता भनेको रङ्गीबिरङ्गी फूल हो, पदयात्रा गर्न सक्नेहरू चार हजारभन्दा माथिको उचाइ बुकीपाटनमा पुग्छन् भने पदयात्रा गर्न नसक्ने ढोरपाटन उपत्यकाका फूलसँगै घोडा सफारीमा रमाउने गरेका छन् ।’पर्यटकका कारण यहाँका घरबास, होटल तथा घोडा व्यवसायी समेत उत्साहित छन् । पच्चीस जना क्षमता रहेको घरबास यो बर्खामा समेत भरिएर पाहुना अन्य होटल तथा घरबासमा पठाइरहेको बताउँदै यो सिजनमा पोखरा, बुटवलदेखि काठमाडौँबाट समेत पर्यटक आउने गरेको पाइएको छ ।

    images
    images

    कञ्चन उत्तरगङ्गा नदी, सुन्दर र समथर भूबनोट, अनेकथरि बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेका काठमाडौँबाट मोटरसाइकलमा घुम्न आएका अनिल राजवंशीले बताए । यहाँ फल्ने रातो, सेतो, पहेँलो, गुलाफीजस्ता अनेकौँ थरिका फूलले पर्यटकलाई ढोरपाटन तानिरहेको छ ।राजवंशीले चार हजार मिटरभन्दा माथिको बुकिपाटन समेत एक दिनको पदयात्रामार्फत पुगेको बताउँदै ढोरपाटनको सौन्दर्यता वयान गरेर नसक्ने बताउँछन् । बुर्तिबाङबाट ढोरपाटनसम्मको झण्डै ३० किमी सडकलाई स्तरीय बनाउन सकेमा ढोरपाटनमा पर्यटकको कमी नहुने उनको भनाइ छ । राजवंशीले कष्टकर यात्रालाई ढोरपाटनको दृश्यले बिर्साउने गरेको बताए ।

    ‘टिकटकमा अहिले निकै सुन्दर दृश्य देखिएका थिए, ढोरपाटन उपत्यका, पदयात्रामार्फत बुटीपाटन गएको, भेडाका बथानसँगै सयौँ थरि फूलहरूको दृश्यले लोभ्यायो एक हप्ताको छुट्टी लिएर श्रीमतीसँगै काडमाडौँबाट ढोरपाटन आएँ’, राजवंशीले भने, ‘यो बर्खामा समेत पदयात्रीको कमी रहेन बुकी पाटनमा एक दिनमै सयौँ पर्यटक त्यहाँ आफूसँग गएको, पदयात्राका क्रममा बाटोमा साँघु र गोठ निर्माणले यात्रालाई केही सहज बनाएको पाएँ ।’ढोरपाटनबाट बुकी र जलजला क्षेत्र पुगेर हिमालका सुन्दर दृश्य हेर्न पर्यटक लालयित भएर ढोरपाटन पुग्ने गरेको पाइएको छ । पाटनैभरि फुल्ने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ । लेकमा फुल्ने फूललाई समग्रमा बुकीका नामले चिन्ने गरेको स्थानीयको भनाइ छ । अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चारमाध्यमले यहाँ आउन पनि निकै सजिलो भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend