काठमाडौँ, साउन २६–दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ मा अवस्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी बैंकको ठूलो रकम अपचलन गरी अनलाइन जुवामा संलग्न भएको अभियोगमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाही, कर्मचारी निर्मला साउद, धनन्जय पन्त, र अम्बादत्त पन्त रहेका छन्। महालक्ष्मी विकास बैंकले दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।
डीएसपी दाहालका अनुसार, उनीहरूलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा बैंकका चारै कर्मचारीको मिलेमतोमा रु २ करोड ८४ लाख ७६ हजार ७ सय रुपैयाँ अपचलन गरिएको खुलेको छ।
बैंकको केन्द्रीय कार्यालयबाट गोकुलेश्वर पुगेको टोलीले प्रारम्भिक छानबिन गर्दा सो रकम नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म ूवान एक्स बेटू मार्फत लगानी गरिएको प्रमाण फेला परेको हो।
बैंकले कर्मचारीहरूले मूल खातामा भल्ट मौज्दात देखाएर गैरकानुनी तरिकाले रकम हिनामिना गरेको पाएको छ। यो घटना उजागर भएपछि चारै जनालाई निलम्बन गरिएको बैंकले जनाएको छ।
हाल बैंकको जिम्मेवारी हेमराज जोशीलाई दिइएको छ। शाखा प्रबन्धक जोशीका अनुसार, शाखाको दैनिक कामकाज आज देखि नियमित रूपमा सञ्चालनमा आएको छ।




.gif)





