images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • यो वर्ष १५ अर्ब बराबरको धान...

यो वर्ष १५ अर्ब बराबरको धान उत्पादन घट्ने

यो वर्ष १५ अर्ब बराबरको धान उत्पादन घट्ने

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • यो वर्ष करिब १५ अर्ब रुपैयाँभन्दा बढीको धान उत्पादन घट्ने देखिएको छ। सिँचाइ अभावले धान रोपाइँको क्षेत्रफल घट्नु, ढिला रोपाइँ हुनु, पर्याप्त रासायनिक मलको अभावले धान उत्पादन प्रभावित हुने भएको हो।वर्षा ढिला भएकै कारण अन्न भण्डार मानिने मधेस प्रदेशमा ८६.५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। यो वर्ष मुलुकभर ९४.१५ प्रतिशत मात्र रोपाइँ भएको छ। मुलुकभर १३ लाख ७६ हजार चार सय ६६ हेक्टरमा धान रोपाइँ हुनुपर्ने भए पनि १२ लाख ९५ हजार आठ सय ८७ हेक्टरमा मात्र रोपाइँ भएको छ।

    images
    images

    यस वर्ष वर्षा ढिला हुँदा किसानले छिप्पिएको बिरुवा रोपेका छन्। किसानले धान गोड्ने बेला हुँदा पनि पर्याप्त रासायनिक मल पाउन सकेका छैनन्। यो वर्ष पोहोरभन्दा ८० हजार पाँच सय ७९ हेक्टरमा कम रोपाइँ भएको छ। गत वर्ष प्रतिहेक्टर ४.१९ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको उत्पादनलाई आधार मान्दा यो वर्ष कम रोपाइँ भएका कारण मात्र ३ लाख ३७ हजार ६ सय २६ मेट्रिक टन अर्थात् ३३ लाख ७६ हजार २ सय ६० क्विन्टल धान उत्पादन घट्ने देखिएको छ।

    चालु आर्थिक वर्षका लागि मध्यम धान प्रतिक्विन्टल तीन हजार ६ सय २८ रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। यसरी हेर्दा क्षेत्रफल घटेका कारण १२ अर्ब २४ करोड ९० लाख रुपैयाँको धान उत्पादन घट्ने देखिन्छ। विशेष गरी मधेसमा यो वर्ष करिब १० प्रतिशत कम रोपाइँ भएको छ। वर्षा ढिला भएका कारण ढिला रोपाइँ भएको हो। रोपेको खेतमा पनि पानी नपरेका कारण धाँजा फाटेको थियो। धानले पर्याप्त पानी, मल नपाउँदा र छिप्पिएको बिरुवा रोप्दा उत्पादनमा असर पर्छ।ढिला रोपाइँ, छिप्पिएको बिरुवा, रासायनिक मल अभावका कारण यो वर्ष उत्पादकत्वमा करिब १० प्रतिशत गिरावट आउन सक्ने पूर्वकृषि सचिव डा. योगेन्द्रकुमार कार्की बताउँछन्। ‘एकातर्फ धान रोपाइँको क्षेत्रफल घटेको छ,’ कार्कीले भने, ‘अर्कातर्फ अन्य कारणले पनि उत्पादकत्वमा गिरावट आउने देखिन्छ।’ क्षेत्रफल घटेका कारण करिब सवा १२ अर्ब र अन्य कारण धान उत्पादकत्वमा आउने गिरावटका कारण करिब तीन अर्ब गरी करिब १५ अर्ब रुपैयाँ बढीको धान उत्पादन घट्ने प्रारम्भिक अनुमान छ। बाँझो जमिनमा अन्य बाली लगाउनुपर्ने कार्कीले बताए।

    images
    images

    कृषि विभागका अनुसार यो वर्ष कोसी प्रदेशमा ९४.४२ प्रतिशत, मधेसमा ८६.३५ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, कर्णालीमा ९९.३४ प्रतिशत, सुदूरपश्चिममा ९९.१५ प्रतिशत रोपाइँ भएको छ। करिब ८० हजार हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएका कारण उत्पादन प्रभावित हुने र अन्य कारण के हुन्छ भन्न नसकिने कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल बताउँछन्। ‘धान रोपाइँको क्षेत्रफल घटेकाले उत्पादनमा प्रभाव पर्छ,’ सञ्जेलले भने, ‘नयाँ हाइब्रिड बिउ प्रयोग गरेका कारण उत्पादकत्व वृद्धि हुन पनि सक्छ।’ अन्य प्राविधिक समस्या आएन भने अन्य कारणबाट उत्पादकत्वमा गिरावट नआउने सञ्जेल बताउँछन्।गत आर्थिक वर्ष २०८१÷८२ मा बर्खे र चैते दुवै गरी कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। गत वर्ष ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन उत्पादन उत्पादन भएको थियो। मुलुकका लागि वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्छ। यो पोहोरको तुलनामा अझै धान उत्पादन घट्ने देखिएकाले चामल आयात बढ्ने देखिएको छ।

    गत आवमा करिब सवा आठ लाख मेट्रिक टन धान, धानको बिउ, चामल, कनिका आयात भएको थियो। करिब ४१ अर्ब रुपैयाँ बढीको धान, चामल आयात भएको थियो। यो वर्ष धान उत्पादन घट्ने भएकाले चामलको आयात अझै बढ्ने भएको छ।सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउने बताउँदै आए पनि कठिन देखिएको छ। चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम सरकारले अघि सारेको छ। मलखाद, गुणस्तरीय बिउ र अनुसन्धानबाट प्राप्त नवीनतम प्रविधिहरू किसानमा लगेर उत्पादन बढाउने प्रयास भएको विभागका महानिर्देशक सञ्जेलले बताए। चालु आवमा १८ जिल्लाका ५८ पालिकामा संघीय ससर्त वित्तीय हस्तान्तरणमार्फत चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित धानका २१ जोन र पाँच सुपरजोनमार्फत बर्खे र चैते दुवै सिजनमा धानको सम्पूर्ण मूल्यशृंखला विकासमा कार्यक्रम पनि सञ्चालन गरेको विभागले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend