काठमाडौं । नागरिक लगानी कोषको अध्यक्षमा तुलसी प्रसाद घिमिरे नियुक्त भएका छन् । अर्थ मन्त्रालयले भदौ १ गतेदेखि उनलाई कोषको अध्यक्षमा नियुक्त गरेको हो । उनकाे कार्यकाल ३ वर्षकाे हुनेछ ।घिमिरेले भदौ ५ गते बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । गत वैशाखमा उनले राष्ट्र बैंकबाट अवकाश पाएका थिए ।
राष्ट्र बैंकको बैंकिङ एवं अनुसन्धान, सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय लगायत विभागमा काम गरेका घिमिरे अर्थशास्त्र विषयमा एमफील उपाधि हासिल गरेका छन् ।
यस अघिका अध्यक्ष प्रा.डा. सूर्य बहादुर थापाकाे कार्यकाल गत असार २१ गते सकिएकाे थियाे । यससँगै कोषको अध्यक्ष पद रिक्त थियो ।




.gif)





