काठमाडौँ, ११ भदौ – यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारबाहीमा पर्ने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएको प्रचारप्रति आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।
विभागले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नलगाउने सवारीधनी माथि कारबाही गरिने र जेलसम्म पठाइने भन्ने प्रचार झुटो भएको जनाएको हो।
विभागले हाललाई कुनै पनि प्रकारको दण्ड वा जरिवाना नगर्ने निर्णय गरेको छ, विज्ञप्तिमा उल्लेख छ, तर सवारीधनीहरूलाई आफूले दर्ता गराएको यातायात कार्यालयमा स्वःस्फूर्त रूपमा गई इम्बोस्ड नम्बर प्लेट जडान गर्न तथा डिजिटाइजेसन प्रक्रियामा सहयोग पुर्याउन अनुरोध गर्दछौं।
विभागले देशभरका यातायात कार्यालय र प्रदेश कार्यालयहरूमा इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया सहज बनाउन आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्था गरिएको पनि जनाएको छ। सेवाग्राहीको सुविधाका लागि थप व्यवस्था गर्दै लगिएको विभागको भनाइ छ।
साथै, इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपी प्रयोग गर्ने विषयमा उठेका प्रश्नहरूबारे विभागले सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णय उल्लेख गर्दै अंग्रेजी लिपी प्रयोगमा कुनै पनि संवैधानिक वा कानुनी त्रुटि नरहेको स्पष्ट पारेको छ।






.gif)





