काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा हिन्दू नारीहरूको महान चाड गौरा पर्वको रौनक छाएको छ। गौराको दोस्रो दिन आज ‘नानी गौरा’ धूमधामका साथ मनाइँदैछ।
संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टका अनुसार, बर्तालु महिलाहरूले बिरुडापञ्चमी अर्थात् हिजो बिहीबार भिजाएका बिरुडा (विभिन्न प्रकारका अन्न) लाई आज बिहानै नजिकका धारा, तलाउ वा पानीका मुहानमा लगी धुने परम्परा रहिआएको छ।
स्थानीय भाषामा ‘नानी गौरा’ भनिने आजको दिन विशेष महत्त्वपूर्ण मानिन्छ। साउँ, तिल, अपामार्ग लगायतका वनस्पति प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पूजाआजा गरिन्छ। गौरादेवीको पूजामा धुने बिरुडा चढाइन्छ भने, बारीमा फलेका विभिन्न फलफूल पनि अर्पण गरिने परम्परा छ।
यस पर्वले महिला वर्गमा अध्यात्मिक आस्था मात्र होइन, सामुदायिक एकता र सांस्कृतिक जगेर्नामा समेत टेवा पुर्याउँदै आएको छ।




.gif)





