तेल अभिभ । इजरायली सेनाले गाजा सहरको ४० प्रतिशत हिस्सा आफ्नो कब्जामा भएको दाबी गरेको छ । गाजामाथि पूर्ण नियन्त्रण प्राप्त गर्न ठुलो अभियानको लागि तयारी भइरहेको बिहीबार सेनाले बताएको छ । ‘आज पनि गाजा सहरको ४० प्रतिशतभन्दा बढी हिस्सा हाम्रो कब्जामा छ र अब हामी हमासको पूर्वाधारलाई नष्ट गर्न ठुलो र शक्तिशाली अभियान सुरु गर्न गइरहेका छौँ ।’ इजरायली सेनाका प्रवक्ता आविनन गवाविले भनेको भन्दै बीबीसीले समाचार छापेको छ ।
आउने दिनमा गाजा सहर र यो आसपास चलिरहेको अभियान तीव्र पार्ने तयारी भइरहेको पनि उनले बताए । आफूहरूले हरेक ठाउँमा हमासको पिछा गरिरहने अनि बाँकी रहेका इजरायली बन्धक फिर्ता नआएसम्म यो मिसन नसकिने सेनाको प्रवक्ताले बताए ।
हालैका दिनमा इजरायलले गाजा सहरका वरपरका आक्रमणहरू तीव्र पारेको छ । यसअघि हमासले सबै बन्धकहरू छोड्ने प्रस्ताव गरेको थियो । तर इजरायलले उसको यो प्रस्ताव अस्वीकार गर्यो । यसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले फैलाइरहेको झुठो कहानी भनेको थियो ।




.gif)





