पोखरा, ६ भदौ, पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने विदेशी पर्यटकबाट गत आर्थिक वर्षमा ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार, आर्थिक वर्ष २०८१।०८२ मा निषेधित उपल्लो मुस्ताङ र मनाङको नार–फू क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकबाट ३० करोड १७ लाख ५२ हजार रुपैयाँ बराबरको प्रवेश शुल्क संकलन गरिएको हो। यो अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार, उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकले प्रति व्यक्ति ५ सय अमेरिकी डलर र नार–फू क्षेत्र जानेले १ हजार डलर तिर्ने गरेका छन्। यी शुल्क अध्यागमन कार्यालय मार्फत संकलन गरिने र सो राजस्व संघीय सरकारको खातामा जाने व्यवस्था छ।
पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि
गत वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्ने पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ। आर्थिक वर्ष २०८०।८१ मा २,२२,१८० जना विदेशी पर्यटकले भ्रमण गरेकोमा, २०८१।८२ मा यो संख्या बढेर २,७८,११३ पुगेको छ।
पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएपछि संरक्षण क्षेत्रमा प्रवेश शुल्क मार्फत हुने आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको डा.कडरियाले जानकारी दिए।
गत वर्ष मात्र, निषेधित क्षेत्र बाहेक अन्य क्षेत्रहरूमा प्रवेश गर्ने विदेशी पर्यटकबाट ४६ करोड ४८ लाख ८१ हजार ४८३ रुपैयाँ संकलन गरिएको छ। अघिल्लो वर्ष यो आम्दानी ३८ करोड ९४ लाख ६१ हजार ४८३ रुपैयाँ थियो।
दक्षिण एशियाली पर्यटकको उल्लेख्य उपस्थिति
कुल पर्यटकमध्ये १ लाख ५७ हजार ७८६ जना दक्षिण एशियाली मुलुकबाट आएका थिए भने अन्य मुलुकका पर्यटकको संख्या १ लाख २० हजार ३२७ रहेको छ। दक्षिण एशियाली पर्यटकका लागि रु १,००० र अन्य विदेशी पर्यटकका लागि रु ३,००० (भ्याटसहित) प्रवेश शुल्क लाग्ने व्यवस्था छ।
संरक्षण र पर्यटन प्रवर्द्धनमा आम्दानीको उपयोग
पर्यटक शुल्कबाट उठेको आम्दानीको ठूलो हिस्सा संरक्षण र पर्यटन प्रवर्द्धनका गतिविधिमा खर्च हुने गरिएको छ। ‘एक्याप’ले पदमार्ग निर्माण, फोहर व्यवस्थापन, साना सिँचाइ आयोजना, खानेपानी, आयआर्जन कार्यक्रम तथा संरक्षण शिक्षा जस्ता विभिन्न कार्यहरू सञ्चालन गर्दै आएको छ।




.gif)





