काठमाडौँ । भदौ २४, आज देशभरको मौसममा बदलीको अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदरभन्दा दक्षिणतिर तथा पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ।
सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था देखिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश प्रदेश र देशका अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा र मधेश तथा अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
महाशाखाले आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ। साथै, मौसम सम्बन्धी पछिल्लो जानकारीका लागि महाशाखाको नियमित अद्यावधिक सूचनालाई ध्यान दिन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ।




.gif)





