काठमाडौँ । असोज १४, आगामी केही दिनमा नेपालमा भीषण वर्षा हुने पूर्वानुमान गरिएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले असोज १७ देखि २१ (अक्टोबर ३ देखि ७) सम्म भारी वर्षा हुन सक्ने जनाएका छन्।

डा. पोखरेलले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै भनेका छन्, फोरकास्ट नमिलून् भनेर कामना गरौँ, तर पोहोर सालको जस्तै असोजमा पनि यसपालि भीषण पानी पर्ने सम्भावना धेरै छ। अहिले तीन वटा मौसम मोडेलहरूले भारी वर्षाको संकेत देखाएका छन्।
उनका अनुसार बुधबार (असोज १५) देखि हल्का वर्षा सुरु भई बिहीबार राति देखि पूर्वी नेपालमा भारी वर्षा हुने देखिएको छ। ३ देखि ४ दिनसम्म लगातार हुनसक्ने भएकाले यात्रा तथा कृषि कार्यमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
यता भारतले पनि असोज १७ देखि १९ गतेसम्म सिक्किम, पश्चिम बंगाल र बिहार क्षेत्रमा भारी वर्षाको चेतावनी जारी गरिसकेको छ, जसको अप्रत्यक्ष असर नेपालमा पनि पर्न सक्ने अनुमान गरिएको छ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर भारी वर्षा हुँदा जनधनको व्यापक क्षति पुगेको थियो। त्यसको पुनरावृत्ति हुन नदिन आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।




.gif)





