काठमाडौँ । असोज १७, काभ्रे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बडादसैँको अवसर पारेर बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा त्यस आसपासका सडक र पुलहरूको स्थलगत निरीक्षण गरेका छन्।
सहरी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री घिसिङले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने प्रमुख सडक खण्डहरूमा पुगेर बिग्रिएका संरचना र अलपत्र अवस्थामा रहेका पूर्वाधारको अवलोकन गरेका हुन्।
निरीक्षण क्रममा मन्त्री घिसिङले सम्बन्धित प्राविधिक र उच्च अधिकारीहरू सँगै निर्माणाधीन तथा जीर्ण अवस्थामा रहेका सडक र पुलहरूको अवस्थाबारे जानकारी लिएका थिए। बाढी, पहिरो लगायतका कारणले भत्किएका संरचनाहरूको यथासक्य छिटो मर्मत गर्नुपर्नेमा जोड दिंदै उनले अस्थायी रूपमा ‘बेली ब्रिज’ र ‘कल्भर्ट’ निर्माण गर्न निर्देशन दिएका छन्।
“पर्वको समय भए पनि जनताको दैनन्दिन यात्रा प्रभावित नहोस् भन्ने उद्देश्यले निरीक्षण गरिएको हो,” मन्त्री घिसिङले बताए। साथै, उनले राजमार्गमा देखिएका खाल्टाखुल्टीहरू तत्काल पुरी यातायात सहज बनाउन समेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सङ्घीय राजधानी काठमाडौँबाट बीपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप पुगेका मन्त्री घिसिङले खैरेनीघाटको पुल, मध्यपहाडी लोकमार्गको कार्य प्रगति तथा अन्य संरचनाहरूको अवलोकन गर्दै काममा तीव्रता ल्याउन आग्रह गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार निरीक्षणपछि मन्त्रीले आवश्यक कार्ययोजना बनाउन सम्बन्धित अधिकारीहरूलाई स्पष्ट निर्देशन दिइसकेका छन्।




.gif)





