काठमाडौँ । असोज १८, काभ्रेपलाञ्चोक,परापूर्वकाल देखि आफ्नो मौलिक परम्परा अनुसार काभ्रेपलाञ्चोकका माझी समुदायले विजया दशमीको भोलिपल्ट पापांकुशा एकादशीका दिन ‘पितरा पर्व’ भव्य रूपमा मनाएका छन्।
दसैंको टिकाको भोलिपल्ट माझी समुदायले मनाउने यो पर्व मृतक आफन्तको सम्झनामा विशेष विधिसाथ मनाइन्छ। अन्य समुदायमा वार्षिक श्राद्ध गर्ने परम्परा भए पनि माझीहरूले भने मृत्यु भएको वर्षमा एकपटक मात्रै पितरा निकाल्ने परम्परा राख्दै आएका छन्।
मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार, पर्वको मुख्य उद्देश्य मृतक आत्माको सद्गति र बाँकी परिवारका लागि सुखशान्तिको कामना गर्नु हो। यस वर्ष शुक्रबार आँपचौरमा तीन जना मृतकका नाममा पितरा निकालिएको जानकारी उनले दिए।
किंवदन्ती र सांस्कृतिक महत्व,स्थानीय किंवदन्तीअनुसार, भगवान् महादेव र पार्वतीलाई नदी पार गराएको कथासँग यो पर्वको सुरुवात जोडिएको छ। त्यसबापत महादेवले माझी समुदायलाई मृत्यु पश्चात् नाचगान गरी विदाइ गरेमा स्वर्ग प्राप्त हुने वरदान दिएको विश्वास गरिन्छ।
पर्वको अनौठो चलन,यस पर्वमा मृत्यु भएको व्यक्तिका नाममा पितरा निकालिन्छ। पितृलाई निमन्त्रणा गर्न घरको भित्तामा हात्ती, घोडा, मोटर, हवाईजहाज लगायत सवारी साधनका चित्र कोरिन्छन्। मृतक महिलाका लागि महिला पोशाक र पुरुषका लागि पुरुषको आकृति पनि बनाइन्छ। केही व्यक्तिले मृतकको अभिनयसमेत गर्छन्।
पितरा निकालिएको रातमा भजन, कीर्तन, नाचगान हुन्छ। भोलिपल्ट बिहान सबेरै ती चित्रहरू कसैले नदेख्ने गरी मेटाइन्छ। मूल भोटेले पूजाका विधि सुरु गर्ने र माझी समुदायकै दुई बालिकालाई पुरोहितका रूपमा पूजिन्छ। अन्य समुदायका व्यक्तिले ती बालिकालाई छोएमा अनिष्ट हुने विश्वास गरिन्छ।
मृतकको सन्देश सुन्ने परम्परा,पर्वको क्रममा ‘गुरुङ’ नाम दिइएका दुई व्यक्तिको साथमा मृतकको आत्मालाई नदीसम्म पु¥याउने, गीतगान गर्ने, र मृतकको सन्देश सुनाउने परम्परा छ। इच्छा अनुसार मृतकको सन्देश परिवारले तन्त्रमन्त्र मार्फत सुन्ने चलन रहेको स्थानीय माझीहरू बताउँछन्।
तीन दिनसम्म चल्ने पितरा पर्व सम्पन्न भएपछि मृतकको आत्माले फर्केर नआओस् र बाँकी परिवारलाई कुनै बाधा नआओस् भन्ने मान्यता रहिआएको छ।
संस्कृति जगेर्नामा युवाको भूमिका,स्थानीय माझी समुदायका अनुसार पछिल्ला वर्षहरूमा युवाहरू यस पर्वको संरक्षण र निरन्तरतामा सक्रिय बनेका छन्। यस परम्परालाई जीवित राख्न नयाँ पुस्ताले चासो दिइरहेका छन्, रामकृष्ण माझीले भने।




.gif)





