काठमाडौँ । असोज ३१, काठमाडौँका विभिन्न पाँच क्षेत्रहरूमा आगामी कात्तिक १ गतेदेखि दुई महिनासम्म विरोधका कार्यक्रम निषेध गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै सो जानकारी दिएका हुन्।
प्रदर्शन, धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रमहरूबाट तोडफोड, आगजनी, भिडन्त वा अशान्ति हुने जोखिम रहेको भन्दै पाँच जना भन्दा बढी व्यक्तिको भेला निषेध गरिएको हो।
निषेधित क्षेत्रहरू यस प्रकार छन्ः
शीतल निवास (राष्ट्रपति कार्यालय) क्षेत्र,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकदेखि,सामाखुशी मोडदेखि १०० मिटर दक्षिणसम्म,सामाखुशी खोलासम्म
हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र,केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमाना,नारायणहिटी दरबार संग्रहालय क्षेत्र,केशरमहल चोकदेखि नारायणहिटी दरबार दक्षिण गेट हुँदै जयनेपाल मोड,नारायणहिटी दरबार दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म
सिंहदरबार क्षेत्र,भद्रकाली मन्दिरदेखि सिंहदरबार मूल गेट,पद्मोदय मा.वि.मोडदेखि महालेखा परीक्षक कार्यालय हुँदै अनामनगर,सर्वोच्च अदालतदेखि पुरातत्व विभाग, जिल्ला अदालत र प्रशासन कार्यालयका आसपास
प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र,पवित्र वर्कशप चोकदेखि इटालिया चोक, चिनियाँ दूतावास, भाटभटेनीसम्म,इटालिया चोकदेखि राष्ट्रिय सभा अध्यक्षको निवाससम्म,राष्ट्रबैंक चोकदेखि पूर्वतर्फ १०० मिटर
निषेधाज्ञा अवधिःकात्तिक १ गतेदेखि दुई महिनासम्म लागू हुनेछ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई संयमित रहन र निषेधित क्षेत्रहरूमा कुनै पनि विरोध कार्यक्रम नगर्न आग्रह गरेको छ।






.gif)





