काठमाडौँ । कात्तिक ७, आर्थिक विकासमा पछाडि परेको हुम्ला जिल्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले हाल आयोजनाको पर्यावरणीय प्रभाव मूल्याङ्कन (इआइए) कार्य अघि बढाएको छ। सो आयोजना रुरु जलविद्युत् परियोजना लिमिटेडले निर्माण गर्नेछ।
आयोजना हुम्लाको खार्पूनाथ र सर्केगाड गाउँपालिकामा पर्नेछ। वन तथा वातावरण मन्त्रालयले यसअघि सार्वजनिक सूचना मार्फत इआइएका लागि सुझाव तथा सल्लाह दिन आग्रह गरिसकेको छ।
आयोजना निर्माणका लागि ४७.१३ हेक्टर जग्गा आवश्यक पर्नेछ। वातावरण संरक्षण ऐन, २०७६ अनुसार ५० मेगावाट भन्दा माथिको जलविद्युत् आयोजनाका लागि इआइए अनिवार्य भएकाले सो कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ।
कर्णाली नदी बेसिनमा पर्ने यो आयोजना नदी प्रवाहमा आधारित परियोजना हो। बाह्रेमासे हिमनदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले यस आयोजनालाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेण्ड रहेको छ। आयोजना अन्तर्गत दुईवटा डाइभर्सन सुरुङ निर्माण गरिनेछ, जसको लम्बाइ क्रमशः ५४५ मिटर र ५४२ मिटर रहनेछ। यी सुरुङहरूको व्यास ९.५ मिटर हुनेछ।
आयोजनाबाट सुक्खा याममा ६०९.८९ गिगावाट घण्टा र वर्षा याममा १,१८४.८३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
उत्पादित बिजुलीलाई २० किलोमिटर लामो, डबल सर्किट ४०० केभी प्रसारण लाइन मार्फत मुगु कर्णाली हबमा जोडिनेछ। आयोजना निर्माणका क्रममा ५६ घरधुरी प्रभावित हुने र १८८ वटा रुख काट्नुपर्ने बताइएको छ।
आयोजनाको प्रतिमेगावाट लागत रु २१ करोड ७६ लाख र कुल अनुमानित लागत रु ७२ अर्ब ९० करोड ८० लाख हुनेछ। निर्माण चरणमा औसत १,८०५ जनालाई र सञ्चालन चरणमा ११५ जनालाई रोजगारी प्राप्त हुने अनुमान छ।




.gif)





