काठमाडौँ । मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन, अर्थात् कार्तिक ११ गते (मंगलबार) पनि सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
उपसचिव गणेश नायकद्वारा जारी विज्ञप्ति अनुसार यो निर्णय २०८१ चैत २२ गते प्रकाशित ‘प्रदेश राजपत्र’मा समावेश २०८२ सालका थप बिदा सम्बन्धी सूचनाको आधारमा गरिएको हो।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यका दिन गरी दुई दिन सार्वजनिक बिदा दिनुपर्ने माग बढिरहेको सन्दर्भमा सरकारले यसपालि आंशिक रूपमा सो माग सम्बोधन गरेको बताइएको छ।
यस निर्णयसँगै मंगलबार प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्।
छठ पर्व विशेषगरी मिथिला क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सूर्य देव र छठ मइयाको आराधना गरी धूमधामका साथ मनाउने गर्छन्।





.gif)





