काठमाडौँ । आज पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ। सोही कारण देशका विभिन्न पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखिने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने सम्भावना छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभाव अझ केही दिन रहन सक्ने भएकाले पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।




.gif)





