काठमाडौँ । कात्तिक २५, लोकसेवा आयोगले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीतर्फका परीक्षामा निजामती सेवातर्फको तुलनामा बढी चिटचोरी, नक्कली परीक्षार्थी (खेताला) र अन्य अनियमितता भएको जनाएको छ।
आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनमा उल्लेख छ, “परीक्षामा अनियमितता गर्नेमध्ये अधिकांश परीक्षार्थी सुरक्षा निकायतर्फका विज्ञापनका रहेका छन्।”
प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा आयोगले निजामती सेवातर्फ पाँच जना उम्मेदवार माथि कारबाही गरेको छ भने सुरक्षा निकायतर्फ ३६ जना उम्मेदवार अनुशासनभंग तथा अनियमित कार्यमा संलग्न भएको कारण कारबाहीमा परेका छन्।
१७ जना नक्कली परीक्षार्थी, नेपाल प्रहरीका विभिन्न पदका परीक्षामा १७ जना उम्मेदवारले नक्कली परीक्षार्थी (खेताला) प्रयोग गरेको पाइएको छ। त्यस्तै, प्रहरी र सेनातर्फ ३,३ जनाले इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेका थिए भने ८ जना प्रहरी परीक्षार्थीले उत्तरपुस्तिका नबुझाई परीक्षा केन्द्रबाट हिँडेका थिए।
नेपाली सेनाको परीक्षामा पनि ३ जना उम्मेदवारले उत्तरपुस्तिका च्यातेको आयोगले जनाएको छ।
आयोगले यस्ता उम्मेदवारलाई १ देखि २ वर्षसम्म कुनै पनि परीक्षा दिन नपाउने गरी कारबाही गर्ने गरेको हो।
दरखास्तको तथ्यांक,आर्थिक वर्ष २०८१।८२ मा आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत कुल ४,५९,८३४ दरखास्त प्राप्त भएका छन्। देशका सबै जिल्लाबाट दरखास्त परे पनि दरखास्त दिने सन्दर्भमा सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट शीर्ष पाँच जिल्लामा परेका छन्।
यी पाँच जिल्लाबाट मात्रै ८० हजार १६८ (१७.४३ प्रतिशत) दरखास्त परेका थिए।
त्यसैगरी मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पा जिल्लाबाट सबैभन्दा कम, २,१८२ (०.४७ प्रतिशत) दरखास्त परेका छन्।
औसत उमेर र विज्ञापन विवरण, सो आर्थिक वर्षमा दरखास्त दिने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष रहेको आयोगले जनाएको छ।
आयोगले प्रकाशित ३,१८१ वटा निजामती सेवाका विज्ञापनमध्ये ४४ वटा विज्ञापनमा कुनै पनि दरखास्त नआएको पनि प्रतिवेदनमा उल्लेख छ।




.gif)





