images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • जलजला गाउँपालिकाद्वारा १२ उद्यमीलाई सहुलियत ब्याजदरमा...

जलजला गाउँपालिकाद्वारा १२ उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

जलजला गाउँपालिकाद्वारा १२ उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • काठमाडौँ । कार्तिक २८, पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चौमासिकमा १२ जना स्थानीय उद्यमीलाई सहुलियतपूर्ण बिनाधितो ऋण उपलब्ध गराएको छ। जिल्लाको सदरमुकाम बेनी बजार नजिकैको लामाखेतमा अवस्थित गाउँपालिका कार्यालयमार्फत ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत प्रत्येक उद्यमीलाई एक–एक लाख रुपैयाँ ऋण वितरण गरिएको हो।

    images
    images

    गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यका अनुसार चार किस्तामा फिर्ता गर्नेगरी वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइएको छ। पहिलो किस्ता चार महिनापछि र त्यसपछि प्रत्येक चार,चार महिनामा २५ हजार रुपैयाँ समान किस्तामा १६ महिनाभित्र सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

    ऋणका लागि आवेदन सङ्कलन, स्थलगत अनुगमन, टोल विकास संस्थाको निर्णय तथा वडा कार्यालयको सिफारिसका आधारमा उद्यमी छनोट गरिएको हो। यसअन्तर्गत कुखुरा, भैँसी, बाख्रा तथा माछापालन, तरकारी र फलफूलखेती, सौन्दर्य सामग्री व्यवसाय तथा प्लास्टिक पोखरी निर्माण लगायत व्यवसायमा संलग्न उद्यमीहरूलाई ऋण प्रदान गरिएको छ।

    images
    images

    सम्झौता सम्पन्न गरी उद्यमीहरूको खातामा रकम पठाउने कार्य गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य तथा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको रोहबरमा सम्पन्न गरिएको हो।

    यसअघि आव २०८०।८१ मा ९ जना उद्यमीलाई ९ लाख र २०८१।८२ मा २० जनालाई १९ लाख ७५ हजार रुपैयाँ लगानी गरिएको थियो। चालु आवको फागुनमा थप ८ जना र असारमा ५ जनालाई घुम्ती कोषमार्फत ऋण प्रवाह गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

    कार्यक्रमको लक्ष्य उद्यमशीलताको विकास, भौतिक पूर्वाधार निर्माणमा गुणस्तर कायम, कृषि तथा पशुपालनमा आत्मनिर्भरता, युवा विदेश–पलायन न्यूनीकरण तथा स्थानीय तहमै रोजगारी सिर्जना गर्नु रहेको छ। बिनाधितो सहुलियत ऋणले व्यावसायिक खेती, पशुपालन, घरेलु उत्पादन तथा स्वरोजगारमुखी काममा संलग्न तथा यस क्षेत्रमध्ये प्रवेश गर्न इच्छुक युवालाई ठूलो प्रेरणा मिलेको स्थानीयवासीहरूले बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend