महेन्द्रनगर । तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो । तीन वटा प्याकेजमा ठेक्का दिएर थालिएको निर्माण निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटक/पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो ।
कूल ६२ किलोमिटर सडकमध्ये हालसम्म ५० किलोमिटर मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन वटा प्याकेजमध्ये दोस्रो प्याकेजको करिब १२ किलोमिटर हुलाकी सडक कालोपत्रे हुन नसकेको उनी बताए ।“दोस्रो २२ किलोमिटरको प्याकेजमा एक हजार १ सय मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन”, उनी भन्छन्, “२२ किलोमिटरको अन्तिम प्याकेज निर्माणको अन्तिम चरणमा छ ।”
त्यसैगरी सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणसमेतका लागि गरेर चालु आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरुलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीसमेत रहेको धनगढी बजार आवागमनमा सहजता थपिएको छ ।“वर्षौंसम्म हिलो र थुलो खाएर यात्रा गर्नुपरेको थियो”, बेलौरीका शिक्षक केशव विष्टले भने, “अढाइ वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापर्वाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपरेको छ ।”




.gif)





