images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने...

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • काभ्रेपलाञ्चोक।  यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको हो । कार्यालयले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए । उनका अनुसार प्रारम्भिक लगतका हिसाबले गत वर्षको भन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्न सक्ने प्रक्षेपण गरिएको छ । ‘सुन्तलाखेती प्रवर्द्धनका लागि स्थानीय तहको पनि सहयोगले गर्दा यस वर्ष उत्पादन बढ्ने देखिएको हो’, दवाडीले भने । बेथानचोकका अधिकांश बगैँचामा पुराना बोट भएकाले सुन्तला उत्पादन केही घटेको उनको भनाइ छ ।

    images
    images

    जिल्लामा अघिल्ला वर्षमा विविध कारण दुई प्रतिशतले गिरावट हुँदै आएको सुन्तला उत्पादन गत वर्ष बाढीपहिरोका कारण बगैँचामा क्षति पुर्‍याउँदा सात प्रतिशतले गिरावट भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा २०८१ मा सात हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि बाढीपहिरोका कारण बगैंचामा क्षति पुर्‍याउँदा ५०० मेट्रिकटन गिरावट भएको हो । जिल्लाको कूल क्षेत्रफलमध्ये करिब एक हजार ३०० हेक्टर अर्थात् करिब ३० हजार रोपनी क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । यस वर्ष भने करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने जनाइएको हो । गत वर्ष विभिन्न स्थानमा सञ्चालन गरिएको सुन्तला सुधार कार्यक्रमले सुन्तला राम्रो फल्नेमा विश्वस्त रहेको दवाडीले बताए । 

    अघिल्ला वर्षमा भने रोगकिराका कारण लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतको हाराहारीमा गिरावट हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार केही वर्षअघिसम्म जिल्लामा वार्षिक रु ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो ।  सुन्तला उत्पादनका लागि जिल्लाको पनौती नगरपालिका, धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई विशेष पकेट क्षेत्रको मानिने गरिन्छ । जिल्लामा सुन्तला जोगाउन किसान जागरण अभियान तथा सुन्तला सुधार कार्यक्रमले सुन्तला उत्पादन बढाइने लक्ष्य लिइएको थियो । 

    images
    images

    सुन्तला प्रवर्द्धन कार्यक्रमअन्तर्गत बगैँचाका बोट सुक्ने, मर्ने तथा फलको गुणस्तरमा कमी आउनेजस्ता समस्या किसानले भोग्नु नपरोस्, सुन्तलाजात फलफूलको स्वस्थ बगैँचाबाट राम्रो उत्पादन दिँदै आइरहेकामा केही वर्षपछि उत्पादन घट्ने र बगैँचा अनुत्पादित भएर बोट मर्न सक्ने भएकाले किसानलाई समयमै जानकारी गराउन विभिन्न स्थानमा तालिमको आयोजना गरिएको दवाडीले बताए । दवाडीका अनुसार जागरण अभियानमा बगैँचा स्थानको भौगोलिक विशेषता, स्याहारसम्भार, मलजल, रोगकिरा आदि राम्रो व्यवस्थापन गरे किसानले सुन्तला खेतीबाट राम्रो लाभ लिन सक्ने भएकाले सुन्तला जात फलफूल बगैँचामा देखा पर्ने यस प्रकारका समस्याका कारण यस क्षेत्रमा किसान सचेतीकरण र उपचार गर्न जागरण कार्यक्रम अघि सारिएको थियो । सुन्तलाको फल झर्ने समस्या न्यूनीकरणका लागि किसानलाई किटनाशक औषधि र बिरुवाका लागि प्रोटिन–ब्रेटसमेत वितरण गरिएको थियो । 

    यस्तै, कार्यालयले पछिल्ला वर्षसम्म सुन्तलाका लागि प्रख्यात काभ्रेपलाञ्चोकको सुन्तला बगैँचामा स्थलगत अनुगमनका क्रममा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएपछि जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचामा पुनर्जागृत गराउन विभिन्न स्थानका पुरानो बगैँचामा सुन्तलाको बोटमा उपचार गरेको थियो । पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काटछाँट गर्ने, ऐजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार गरिएको हो । कार्यालयका अनुसार सुन्तलाका बोटको उपचारअघि जिल्लाभर करिब २० प्रतिशतमा औँसा किराको प्रकोप देखिएको थियो । यसका कारण बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर झर्ने गर्दथ्यो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend