images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • झापामा तीन लाख ५४ हजार मेट्रिकटन...

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • झापा । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिए । उनका अनुसार गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टर क्षत्रफलमा तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व पाँच दशमलव शून्य ७३ रहेको थियो ।

    images
    images

    बेमौसमी तथा अनियमित वर्षाका कारण धानखेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष दुई हजार ७१६ दशमलव ५३ हेक्टर घटेको प्रमुख विष्टले बताउँदै उत्पादकत्व बढेर पाँच दशमलव १९५ पुगेको जानकारी दिए । गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । उक्त क्षतिबाट अनुमानित रु ७८ करोड ११ लाख ५६ हजार बराबरको क्षति भएको छ ।बेमौसमी वर्षाका कारण खेतीमा ठूलो क्षति व्यहोरेका किसान यतिबेला मूल्य नपाएर समस्यामा परेका छन् । सरकारले गत साउनमा बर्खे धानको न्यूनतम समर्थन मूल्य बढाएको थियो । मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ ।

    केही वर्षअघिसम्म किसानले धान भित्र्याउन सुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या रहेकामा पछिल्ला केही वर्षदेखि सरकारले मूल्य तोक्न थालेको छ ।सरकारले समयमा धानको समर्थन मूल्य तोके पनि किसानले मूल्य नपाउने समस्या भने जस्ताकोतस्तै रहेको किसानको गुनासो छ । झापामा हाल किसानले मध्यम धान प्रतिक्विन्टल रु तीन हजार र मोटा धान रु दुई हजार ७५० मा बिक्री गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले भने, “किसानले सरकारले तोकेको मूल्य पाउन सकेका छैनन्, किसानको गुनासो आइरहेको छ ।”राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले हाल किसानले धानको समर्थन मूल्य नपाएको स्वीकारे  । “अहिले प्रतिक्विन्टल रु तीन हजार १०० मा मध्यम धान बिक्री भइरहेको छ”, उनले भने, “अब मूल्य समायोजन गरी बढ्ने छ ।” सुरुसुरुमा धानमा चिस्यान बढी हुने भएकाले मूल्य कम भएको हुनसक्ने बताउँदै उनले धानको गुणस्तर राम्रो भएकाले मूल्य बढ्ने विश्वास व्यक्त गरे । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend