काठमाडौँ, पुस २१ । काठमाडौँको पश्चिमी डाँडामा अवस्थित ऐतिहासिक चन्द्रागिरिको काजी कालु पाँडे पार्क सहित आसपासको क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक बनेको छ। धुवाँधुलो र प्रदूषणबाट केही टाढा रहेको यो क्षेत्र हाइकिङ, साइकल यात्रा, हिमाल अवलोकन र पैदलयात्राका लागि पर्यटकलाई आकर्षित गर्दैछ।
चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठका अनुसार, विभिन्न पर्यटकीय सङ्घ संस्थाले हाइकिङ रुट बनाइ पर्यटक पु¥याइरहेका छन्। कालु पाँडे पार्क, इन्द्रदह, स्विट्जरल्यान्ड पार्क र मदन स्मारक पार्क जस्ता स्थानमा पिकनिक स्पट निर्माण भइसकेको छ।
परिवार सहित घुम्न आएका पर्यटक साम्देन लामाले भने, “पहिलो पटक आएको, बच्चाहरूलाई घोडा चढाउन पाइयो र स्वच्छ हावा खान पाउँदा खुशी लाग्यो।” शुक्रबार–शनिबार स्थानीय तथा आसपासका जिल्लाबाट ठुलो सङ्ख्यामा आगन्तुक आउने गरेका छन्।
नेपाल एकीकरणका सेनानी काजी कालु पाँडेको नाममा यो पार्क राखिएको हो। पाँडे सन् १७५७ तिर पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका आक्रमणमा खटिएका थिए र युद्धमा मृत्यु भएपछि त्यहीँ समाधिस्थल बनाइएको थियो। पाँडे समाधिस्थल नजिकै हिमाल र उपत्यका हेर्नको लागि दर्शनटुप्पो निर्माण गरिएको छ।
उक्त डाँडाबाट गणेश हिमाल, लाङटाङ हिमाल लगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। नगरपालिकाले स्थानीयलाई घरबास सञ्चालनमा सहयोग गर्दै भविष्यमा स्थानीय उत्पादनसहित पर्यटकको अनुभव थप व्यवस्थित बनाउने योजना बनाएको छ।
उक्त स्थलसम्म पुग्न मुख्य सडक हुँदै पैदल वा सवारीसाधनमा करिब एक घण्टा लाग्छ। पैदल यात्रा गर्दा करिब तीन घण्टा लाग्ने जनाइएको छ।स्रोतःगोरखापत्र




.gif)





