एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार तथा सेवा गुणस्तर सुधार गर्ने उद्देश्यसहित सन् २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । साथै, कम्पनीले २ हजार २०० वटा विद्यमान टावरमा क्षमता अभिवृद्धि गरेको छ, जसका कारण ग्राहकहरूले अझ स्पष्ट भ्वाइस सेवा र उच्च गतिको मोबाइल डेटा सेवा अनुभव गर्न सक्ने भएका छन् ।विश्वसनीय कनेक्टिभिटी सुरक्षा, शिक्षा, व्यवसाय र आफ्ना प्रियजनहरूसँग निरन्तर सम्पर्कका लागि अत्यावश्यक बन्दै गएको सन्दर्भमा एनसेलले सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावर स्थापना गरी फोरजी नेटवर्क सुदृढीकरण गरेको हो । विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै नेटवर्क विस्तार अघि बढाइएको कम्पनीले जनाएको छ ।
प्रदेशगत विवरणअनुसार कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौरलगायत स्थानमा नयाँ टावरमार्फत फोरजी सेवा सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत क्षेत्रमा पनि नयाँ टावर सञ्चालनमा आएका छन् । मधेश प्रदेशका सिराहा, सप्तरी र धनुषाका दर्जनौं स्थानमा टावर सञ्चालनमा आएपछि स्थानीय बासिन्दा उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्यान्ड सेवाबाट लाभान्वित भएका छन् ।जनकपुर उपमहानगरपालिका– १७ मनहरपुरकी अनिशा मण्डलले नयाँ टावर सञ्चालनपछि इन्टरनेट सेवा उल्लेखनीय रूपमा सुधार भएको बताइन् । ‘अहिले त घरभित्रै पनि धेरै राम्रो नेट टिप्छ, पढाइदेखि विदेशमा रहेका दाइहरूसँग कुरा गर्नसम्म धेरै सहज भएको छ,’ उनले भनिन् ।
कुल २५० नयाँ टावरमध्ये १९७ वटा पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने, स्टक तथा स्पेयर उपकरणको अधिकतम उपयोग गर्दै ५३ वटा टावर सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट लामो समयदेखि रोकिएको सहजीकरण प्रक्रिया सहज बनेपछि कम्पनीले टावर स्थापना कार्य तीव्र बनाएको हो ।एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटहरूले स्थानीय तहसम्म मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच विस्तार गरेका छन् । ‘गुणस्तरीय सेवा र उच्च गतिको डेटा केवल गति मात्र होइन, यो भरोसा, अवसर र डिजिटल दुनियाँमा पहुँचको विषय हो,’ उनले भने ।नयाँ टावर संख्याका आधारमा मधेश प्रदेशमा १०० भन्दा बढी, लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावर स्थापना भएका छन् । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू सञ्चालनमा ल्याइएका छन् ।एनसेलले जेठ २०७४ देखि फोरजी सेवा सुरु गरेको हो । हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीमा फोरजी पहुँच पुगेको कम्पनीले जनाएको छ ।




.gif)





