images

२०८३ आश्विन २ गते

images
images
images

निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • धुलिखेल, २४ पुस । काभ्रेपलाञ्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित भएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमार्फत स्थानीय नागरिकले गाउँमै स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।

    images
    images

    शिविरमा विद्यालय स्वास्थ्य उपचार सेवाअन्तर्गत विद्यार्थीहरूको नाक, कान र घाँटीसम्बन्धी रोगको परीक्षण, उपचार तथा परामर्श, मुख तथा दाँतसम्बन्धी रोग, आँखा रोगको परीक्षण, उपचार तथा चस्मा वितरण गरिएको थियो । साथै मुटु रोग परीक्षण, रक्त समूह जाँच तथा कार्ड वितरणसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो ।

    त्यसैगरी, विशेषज्ञ चिकित्सकहरूबाट सामान्य स्वास्थ्य परीक्षण, प्रसूति तथा स्त्री रोग, क्षयरोग पहिचानका लागि छातीको एक्स–रे, स्वास्थ्य शिक्षासम्बन्धी परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । नसर्ने रोगको पहिचानका लागि रक्तचाप मापन, निःशुल्क परिवार नियोजन सेवा, पाठेघर खस्ने समस्या जाँच तथा उपचार, पाठेघरको मुखको क्यान्सरको सम्भावना भएका महिलाको परीक्षण तथा अपाङ्गता परिचयपत्र वितरणका लागि शारीरिक परीक्षण सेवा पनि उपलब्ध गराइएको प्रमुख विष्टले बताउनुभयो । शिविरमा दाँत परीक्षण १६८ जनाले र आँखा परीक्षण ३०० जनाले गराएका थिए । 

    images
    images

    यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ २३३, रक्त समूह परीक्षण १८६, बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले, छाती परीक्षण २७१ जनाले, सामान्य स्वास्थ्य परीक्षण ३८१ र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका थिए ।  कार्यक्रमको उद्घाटन गर्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले स्वास्थ्य सेवा लिन भकुण्डे, धुलिखेल वा बनेपा पुग्नुपर्ने अवस्था अन्त्य गर्न गाउँमै सेवा उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो । 

    महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा अस्पताल नभएको अवस्थामा अस्पतालकै सेवा दिने उद्देश्यले वर्षमा एकपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र यस वर्ष घर्तिछापमा आयोजना गरिएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा थप सुधारका लागि हाल अस्पताल भवन निर्माणको काम भइरहेको र आगामी दिनमा गाउँमै अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित पालिका अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपतीले विद्यालयमा अध्ययनरत बालबालिका तथा वयस्क नागरिकका लागि परिवार नियोजन, स्त्री रोग तथा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ सेवा प्रदान गरिएको बताउनुभयो । शिविरमा मेथिनकोट अस्पताल नौविसे भकुण्डे, शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, सिन्धुली अस्पताल सिन्धुली, ख्वप अस्पताल भक्तपुर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँका विशेषज्ञहरुले सेवा प्रदान गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend