नवलपरासी, पुस २७, २०८२ । निर्माणाधीन महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी खण्डको दुम्कीबासदेखि पश्चिमतर्फ साढे दुई किलोमिटर सडकमा पक्की ढलानको काम सम्पन्न भएको छ।
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका कन्सल्ट्यान्ट इन्जिनियर राकेश झाका अनुसार दुम्कीबास बजारदेखि पश्चिम विश्वकर्मा मन्दिरसम्मको स्वीकृत एकतर्फी ढलान सडकको काम शनिबार पूरा भएको हो। यो खण्ड महेन्द्र राजमार्ग अन्तर्गत दुम्कीबास–बर्दघाट बीचको पहाडी दाउन्ने सडक क्षेत्रभित्र पर्दछ।
उक्त क्षेत्रमा अब आउँदो माघ महिनाभित्र साढे १२ मिटर चौडाइको दुईतर्फी ढलान सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको छ। तीन साताअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षणका क्रममा मजदुर र श्रमिक थप गरी काम तीव्र पार्न निर्देशन दिएपछि बिहान ७ बजेदेखि राति १० बजेसम्म काम गरिएको थियो।
दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये शनिबारसम्म करिब ६ किलोमिटर सडक ढलान तथा कालोपत्रे निर्माण सम्पन्न भइसकेको छ। मन्त्री घिसिङले माघ महिनाभित्र एकतर्फी सवारी आवागमन सञ्चालन गर्न सकिने गरी काम सक्न कडा निर्देशन दिएका थिए।
हाल दाउन्ने क्षेत्रमा तीन लेनको राजमार्ग निर्माण भइरहेको छ। दाउन्नेदेखि पूर्व गैंडाकोट सम्मको करिब ६० किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको र आउँदो फागुनसम्म गैंडाकोट–दाउन्ने खण्डको काम सम्पन्न हुने इन्जिनियर झाले दाबी गरेका छन्।
दाउन्ने क्षेत्रमा पहाडी भूभाग र पानी धेरै रसाउने स्थान भएकाले ढलान सडक निर्माण आवश्यक ठहरिएको हो। सुरुमा कालोपत्रे सडकको अनुमान भए पनि पछि प्राविधिक मूल्याङ्कनपछि पानी बढी रसाउने स्थानमा ढलान सडक निर्माण गर्ने निर्णय गरिएको जनाइएको छ।




.gif)





