मध्यविन्दु, फागुन १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत नवलपुरमा दुई हजार ५६ जना कर्मचारी खटाइँदै छन् । निर्वाचन खटिने कर्मचारीहरूको नामावली मङ्गलबार प्रकाशित गरिएको छ ।यहाँ दुई निर्वाचन क्षेत्र छन्, जसका लागि दुई हजार ५६ जना कर्मचारी खट्दै छन् । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले १० प्रतिशत जगेडा राखी एक हजार आठ सय ६९ जना कर्मचारीलाई निर्वाचनमा खटाइने जानकारी दिनुभयो ।
जिल्लामा एउटा अस्थायी मतदान केन्द्रसहित तीन सय १२ वटा मतदान केन्द्र रहेका छन् । पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा आठ जना र पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा सात जनाका दरले कर्मचारीहरू खटिने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । १८ गतेसम्म सबै निर्वाचन कर्मचारीहरू आफ्नो मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुग्ने उहाँले बताउनुभयो ।निर्वाचनमा खटिने मतदान अधिकृतहरूका लागि यही १४ र १५ गते तालिम सञ्चालन गरिनेछ ।
सुरक्षा व्यवस्थामा कडाइ
प्रजिअ पाण्डेका अनुसार निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । अहिले टोलटोल र चोकचोकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटाइएको छ । मोबाइल फोर्स, पैदल गस्ती, सादा पोशाकमा गस्ती लगायतका गतिविधिलाई तीव्र पारिएको छ ।चारै तहको सुरक्षा घेरामा निर्वाचन स्थलको सुरक्षा गरिने प्रजिअ पाण्डेले बताउनुभयो । सुरक्षित वातावरण महसुस गराउनका लागि विकट ठाउँहरूमा ‘स्ट्राइकिङ फोर्स’ रहनेछ । यदि कुनै मतदान केन्द्रमा घटना घटेमा छिटोभन्दा छिटो पुग्न सक्नेगरी व्यवस्थापन मिलाइएको प्रजिअ पाण्डेले बताउनुभयो ।
निर्वाचन सामग्री सबै आइपुग्यो
जिल्लामा निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लाल प्रसाद शर्मा भुसालले जानकारी दिनुभयो । मतपत्र र मतपेटिकासहितका सबै आवश्यक सामग्री जिल्लामा आइपुगेको उहाँले बताउनुभयो ।
जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिकतर्फ एक लाख ५४ हजार र प्रत्यक्षतर्फ एक लाख ४७ हजार मतपत्र आएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा समानुपातिकतर्फ एक लाख ४१ हजार र प्रत्यक्षतर्फ एक लाख ४१ हजार मतपत्र प्राप्त भएको भुसालले जानकारी दिनुभयो ।
२५ जना उम्मेदवारले खोले बैंक खाता
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नवलपुरमा हालसम्म २५ जना उम्मेदवारले मात्रै निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता खोलेका छन् ।दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ३४ जना उम्मेदवारमध्ये २५ जनाले बैंक खाता खोलेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुसालले जानकारी दिनुभयो । अब नौ जनाले खाता खोल्न बाँकी रहेको उहाँले बताउनुभयो ।




.gif)





