काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ मंगलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, श्रम संस्कृति पार्टी पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौँ हुने लगभग निश्चित देखिएको छ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ अनुसार राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत तथा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने व्यवस्था रहेको छ। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले सो व्यवस्था अनुसार मापदण्ड पूरा गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने जानकारी दिएका छन्।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार हालसम्म कुल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भइसकेको छ। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेको छ।
त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमालेले १४ लाख ४८ हजार ३१८ मत ल्याएको छ। नेपाली कम्युनिस्ट पार्टीले ८ लाख २ हजार ७४३ मतसहित चौथो स्थान बनाएको छ।
यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार १९७ मत पाएको छ।




.gif)





