काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीतर्फको मतगणना सम्पन्न भएको जनाएको छ।
अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले कूल १८२ सिट जितेको छ। यद्यपि दुई तिहाइ बहुमतका लागि आवश्यक सिटभन्दा २ सिट कम रहँदा पार्टी दुई तिहाइबाट भने चुक्न पुगेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको हो।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले कूल ३८ सिट जितेको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ।
त्यस्तै तेस्रो स्थानमा रहेको नेकपा एमाले कूल २५ सिट जितेको छ। एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ।
चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले कूल १७ सिट जितेको छ। उक्त पार्टीले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट हासिल गरेको छ।
पाँचौं स्थानमा रहेको श्रम संस्कृति पार्टीले कूल ७ सिट जितेको छ। यसमध्ये प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ सिट रहेका छन्।
छैटौं दलका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ। राप्रपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कूल ५ सिट जितेको छ।
त्यस्तै १ स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ९४.५५ प्रतिशत मत सदर भएको छ भने समानुपातिकतर्फ ९६.।०५ प्रतिशत मत सदर भएको छ। प्रत्यक्षतर्फ कूल १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो भने समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको आयोगले जनाएको छ।




.gif)





