images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर...

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति

images
images
मंगलवार, बैशाख १ २०८३
मंगलवार, बैशाख १ २०८३
  • काठमाडौँ, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनु भएको छ ।

    images
    images

    नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उहाँले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र साधना आवश्यक पर्ने धारणा राख्नुभयो । उहाँले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात् गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिनुभयो ।

    राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्वपूर्ण हिस्सा भएका उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने बताउनुभयो । 

    images
    images

    “हामी नेपालीले नववर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यका लागि प्रतिज्ञा र सङ्कल्प गर्ने शुभसाइतका रूपमा लिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “विशेष पर्व र दिनमा जीवनका लक्ष्य निर्धारण गर्ने र त्यसलाई पूरा गर्न सङ्कल्पबद्ध रहने हाम्रो परम्परा रहिआएको छ ।”

    राष्ट्रपति पौडेलले हालैै मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको बताउँदै जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको उल्लेख गर्नुभयो । 

    “यो निर्वाचनमार्फत नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन्”, उहाँले भन्नुभयो, “यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने सङ्कल्प गरौँ भन्ने पनि चाहेका छन् ।”

    हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न केही सङ्कल्प गर्नुपर्ने उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, वचन र कर्मले निष्ठ रहने सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने, सुशासनप्रति प्रतिबद्ध रहनुपर्ने, समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध हुनुपर्ने तथा जस्तोसुकै परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई झुक्न नदिने गरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    राष्ट्रपति पौडेलले नयाँ वर्षले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने सङ्कल्प र सामथ्र्य पैदा गरोस् र नेपालीका बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend