सोलुखुम्बु, १० कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै ९ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा ८ हजार ९ सय २ जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुन्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुन्जले २ करोड ३ लाख ४८ हजार ५ सय ५३ राजस्व संकलन गरेको निकुन्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार निकुन्जले प्रतिपर्यटक नेपाली १ सय, सार्क मुलुक १ हजार ५ सय र अन्य मुलुक ३ हजार प्रवेश शुल्क लिने गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनमा १२५ तथा भदौमा १ हजार ३ सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा ३ लाख ४५ हजार ९ सय ७५ र भदौमा ३२ लाख ३६ हजार ६ सय ९६ रुपैयाँ राजस्व संकलन भएको कर्मचारी श्रेष्ठले बताए ।
“यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको संख्या धेरै छ, सगरमाथा सहित धेरै हिमाल निकुन्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढे पछि उनीहरुसँग शुल्क र अभिलेख संकलनमा हामी व्यस्त छौं”, श्रेष्ठले भने । सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टर मार्फत लुक्ला पुग्ने गर्छन् भने कतिपय काठमाडौंबाट सडकमार्ग मार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गते सम्म र असोज, कात्तिक, मंसिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यस बाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।
सिजनमा दैनिक १ हजार जना भन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुन्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुन्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।
पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुन्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमा दब्लम, थामसेर्कु जस्ता हिमचुचुरा समेत छन् । यस निकुन्ज भित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो।
सन् १९७९ देखि यस निकुन्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुन्ज १ हजार ८ सय मिटरदेखि ८ हजार ८ सय ४८ मिटर सम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लंगुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । रासस




.gif)





