काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ३०औँ बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित चार महत्त्वपूर्ण विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि विधेयकमाथिको दफावार छलफल र निर्णय प्रक्रियामा सदन प्रवेश गर्नेछ।
कार्यसूचीअनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। प्राप्त संशोधनमाथि निर्णय भएपछि उक्त विधेयक पारितका लागि प्रस्ताव पनि उनले नै सदनमा पेश गर्नेछिन्।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। संशोधनहरू टुंग्याएपछि विधेयक पारितका लागि सदनसमक्ष प्रस्ताव लैजाने कार्यसूची रहेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३’ माथि दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछिन्। आवश्यक संशोधनमाथि निर्णय भएपछि उक्त विधेयक पारितका लागि सदनमा प्रस्ताव गरिनेछ।
यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्। संशोधन टुंगो लगाएपछि विधेयक पारितका लागि सदनमा प्रस्ताव प्रस्तुत गरिनेछ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा आर्थिक, प्रशासनिक, सहकारी तथा स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित यी चार विधेयकमाथि छलफल र निर्णय हुने भएकाले बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। विधेयकहरू पारित भए सार्वजनिक खरिद प्रक्रिया, सम्पत्ति शुद्धीकरण नियन्त्रण, सहकारी क्षेत्रको नियमन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कानुनी व्यवस्थामा सुधारका लागि नयाँ कानुनी आधार तयार हुने अपेक्षा गरिएको छ।





.gif)





