काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वमा उत्पन्न तनावका कारण केही समयअघि बढेको इन्धनको मूल्य अहिले सामान्य अवस्थामा फर्किएको छ। त्यसपछि नेपाल आयल निगमले असार १६ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। विभागले अब त्यसको प्रत्यक्ष लाभ आम उपभोक्तासम्म पुग्ने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि समायोजन गर्न व्यवसायीलाई आग्रह गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले इन्धनको मूल्य घटेपछि त्यसबाट सिर्जित लागत बचत उपभोक्ताले अनुभूति गर्न पाउनुपर्नेमा जोड दिँदै कृत्रिम मूल्यवृद्धि रोक्न र अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन विभागलाई आवश्यक पहल गर्न निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनपछि विभागले खाद्यान्न, दैनिक उपभोग्य सामग्री, ढुवानी सेवा तथा अन्य सेवा क्षेत्रमा संलग्न विक्रेता, व्यवसायी, ढुवानी व्यवसायी र सेवा प्रदायकलाई लागतअनुसार मूल्य समायोजन गरी उपभोक्तालाई राहत दिन आग्रह गरेको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ताको अधिकार संरक्षणलाई सबै सरोकारवालाको साझा दायित्वका रूपमा परिभाषित गरेको उल्लेख गर्दै इन्धनको मूल्य घट्दा त्यसको सकारात्मक प्रभाव बजार मूल्यमा पनि देखिनुपर्ने जनाएको छ।
विभागले बजारमा कृत्रिम मूल्यवृद्धि, अनुचित नाफाखोरी तथा उपभोक्तामाथि अनावश्यक आर्थिक भार पर्ने गतिविधि नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै व्यवसायीलाई जिम्मेवार र उपभोक्तामैत्री व्यवहार अपनाउन आग्रह गरेको छ। साथै, उपभोक्तालाई पनि बजारमा अस्वाभाविक मूल्य असुली वा कालोबजारी भएको पाइए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरिएको छ।




.gif)





