images

२०८३ आश्विन २ गते

images
images
images

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • लमजुङ, २४ असार । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे । 

    images
    images

    गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो ।  समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइँसराइका कारण रोधी बस्ने चलन क्रमशः घट्दै गएको छ । 
     
    रोधीले सिकाएको सामूहिकता, आत्मीयता र मौलिक संस्कृतिप्रतिको अपनत्व अहिले लमजुङको ग्रामीण पर्यटनको बलियो आधार बनेको छ । ‘होमस्टे’मार्फत यही सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै गुरुङ समुदायले पर्यटनलाई आर्थिक समृद्धिको भरपर्दो माध्यमका रूपमा विकास गरिरहेका छन् ।

    गुरुङ समुदायको उद्गमस्थल मानिने लमजुङमा मौलिक पहिचानलाई पर्यटनसँग जोड्ने अभियानले पछिल्ला वर्षमा उल्लेखनीय गति लिएको छ । उक्त समुदायको भाषा, वेशभूषा, कला, संस्कृति, परम्परा, स्थानीय खानपान, रहनसहन र आत्मीय आतिथ्यता अहिले स्वदेशी तथा विदेशी पर्यटकका प्रमुख आकर्षण बनेका छन् । 

    images
    images

    गाउँमा सक्रिय आमा समूह, बाबा समूह, युवा क्लब, होमस्टे व्यवस्थापन समिति र स्थानीय पर्यटन समितिले संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाइरहेका छन् । लमजुङमा ग्रामीण पर्यटनको सङ्गठित सुरुआत क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँबाट भएको मानिन्छ । विसं २०५७ मा महोत्सवसँगै सुरु गरिएको होमस्टे अभियान आज पर्यटनको परिचय बनेको छ । त्यसपछि भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे, घेर्मुलगायत गाउँमा पनि ग्रामीण पर्यटन विस्तार हुँदै गएको छ ।

    समुद्री सतहदेखि करिब दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमूना ग्रामीण पर्यटकीय गाउँका रूपमा परिचित छ । यहाँबाट अन्नपूर्ण, मनास्लु, लमजुङ र हिमालचुलीलगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । परम्परागत गुरुङ बस्ती, स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति र आत्मीय आतिथ्यले वर्षौंदेखि पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

    घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार होमस्टेले गाउँको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । पर्यटनबाट स्थानीयको आम्दानी बढेको छ भने गाउँको पहिचान राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म विस्तार भएको छ । होमस्टेले लोपोन्मुख संस्कार, संस्कृति, परम्परागत परिकार र सामुदायिक जीवनशैलीलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको उनी बताउछन्।

    क्व्होलासोथर गाउँपालिका–४ भुजुङ गाउँ गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयका रूपमा परिचित छ । परम्परागत ढुङ्गे घर, मौलिक संस्कार, धार्मिक आस्था र प्राकृतिक सुन्दरताले भरिएको यस गाउँमा २०६४ सालदेखि होमस्टे सञ्चालन हुँदै आएको छ । यहाँ पुग्ने पर्यटकले गुरुङ समुदायको जीवनशैली, संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्ने अवसर पाउँछन् ।

    मस्र्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँ मनास्लु हिमालको काखमा अवस्थित अर्को आकर्षक गन्तव्य हो । त्यहाँबाट मस्र्याङ्दी नदीको नागबेली दृश्य देख्न सकिन्छ । स्थानीय समुदायको सक्रियतामा पर्यटन प्रवद्र्धनसँगै संस्कृति संरक्षणका अभियान निरन्तर सञ्चालन भइरहेका छन् । 

    सिउरुङका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार आधुनिक जीवनशैली र वैदेशिक रोजगारीका कारण मौलिक संस्कृति सङ्कटमा परे पनि पर्यटनसँग जोडिएपछि त्यसको संरक्षणमा सबैको चासो बढेको छ । उहाँका अनुसार होमस्टे सञ्चालक मात्र नभई दूध उत्पादन गर्ने किसान, अग्र्यानिक तरकारी उत्पादक, स्थानीय अन्नबाली उत्पादन गर्ने परिवार, हस्तकलामा संलग्न महिला तथा अन्य साना व्यवसायी पर्यटनबाट प्रत्यक्ष लाभान्वित भएका छन् । पर्यटक बढेसँगै गाउँमा रोजगारी र आयआर्जनका अवसर विस्तार हुँदै गएको उनी बताउछन् ।

    पर्यटकलाई स्थानीय स्वाद र मौलिक अनुभव दिलाउन गाउँलेले मौसमी उत्पादनको संरक्षण गर्दै आएका छन् । वर्षायामपछि लेकतिरबाट निउरो, च्याउलगायत स्थानीय उत्पादन सङ्कलन गरी सुरक्षित राख्ने र पर्यटकलाई परम्परागत परिकारका रूपमा पस्कने गरिन्छ । कोदो, फापर, मकै, स्थानीय दाल र अन्य मौलिक परिकारले पनि पर्यटकलाई गाउँले स्वादसँग जोड्ने गरेका छन्। 

    गुरुङ समुदायको बाहुल्यता रहेको पसगाउँले पनि ग्रामीण पर्यटनमा छुट्टै पहिचान बनाएको छ । यहाँ प्रदर्शन गरिने कृष्णचरित्र नृत्य, घाटु, झ्याउरे, सोरठी तथा सारङ्गीका मौलिक प्रस्तुति पर्यटकका लागि विशेष आकर्षण बनेका छन् । यस्ता सांस्कृतिक कार्यक्रमले गुरुङ समुदायको पहिचान जोगाउनुका साथै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । 

    ग्रामीण पर्यटनको विकासमा महिलाको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । अधिकांश होमस्टेमा आमा समूहले पाहुनाको स्वागत, स्थानीय परिकार तयारी, सरसफाइ व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनको नेतृत्व गर्दै आएका छन् । युवा पुस्ताले पथप्रर्दशक, पर्यटन उद्यमी, सांस्कृतिक प्रस्तोता तथा ‘डिजिटल’ माध्यमबाट प्रचारप्रसार गरी गाउँमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । 

    क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले संरक्षणसँगै नयाँ पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनुहसन्छ । उहाँका अनुसार गाउँ–गाउँमा पार्क निर्माण, प्राकृतिक झरनाको संरक्षण तथा सौन्दर्यीकरण, नयाँ पर्यटकीय गन्तव्यको विकास, पदमार्ग निर्माण र सेवासुविधा विस्तारका काम भइरहेका छन् । 

    उनले दूधपोखरी जाने मेमेडाँडा क्षेत्रमा पदमार्ग निर्माण भइरहेको जानकारी दिँदै उक्त पदमार्ग पूरा भएपछि कास्कीबाट आउने पर्यटकलाई यस क्षेत्र हुँदै मनाङसम्म पुग्ने वैकल्पिक पदयात्रा मार्गका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउछन् । पर्यटकको बसाइ अवधि लम्ब्याउन नयाँ पर्यटकीय गतिविधि विकास, स्थानीय उत्पादनको बजारीकरण तथा कृषि र पर्यटनलाई एकीकृत गर्ने योजनामा गाउँपालिका केन्द्रित रहेको उनको भनाइ छ ।

    ग्रामीण पर्यटनले केही चुनौती पनि भोगिरहेको छ । वर्षायाममा सडक अवरुद्ध हुने, केही पर्यटकीय गाउँमा गुणस्तरीय पूर्वाधारको अभाव, दक्ष जनशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुनु तथा मौलिक संस्कृतिमा आधुनिक प्रभाव बढ्दै जानु प्रमुख चुनौतीका रूपमा देखिएका छन् । पर्यटन व्यवसायीले यी समस्या समाधानका लागि पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार र तीनै तहका सरकारको समन्वय आवश्यक रहेको बताएका छन् ।

    प्राकृतिक सम्पदा, गुरुङ संस्कृतिको मौलिकता, सफल होमस्टे अभ्यास, कृषि र पर्यटनको अन्तरसम्बन्ध तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण लमजुङको ग्रामीण पर्यटनको भविष्य थप सम्भावनायुक्त देखिएको छ । 

    पदयात्रा मार्ग विस्तार, डिजिटल प्रचारप्रसार, स्थानीय उत्पादनको ‘ब्रान्डिङ’ र सांस्कृतिक सम्पदाको संरक्षणलाई थप प्रभावकारी बनाउन सके पर्यटकको बसाइ अवधि र पर्यटनबाट हुने आम्दानी अझ बढ्ने अपेक्षा गरिएको छ ।

    रोधीघरमा हुर्किएको सामूहिकताको संस्कार आज होमस्टे, सांस्कृतिक पर्यटन र आत्मीय आतिथ्यतामार्फत नयाँ स्वरूपमा पुनर्जीवित भइरहेको छ । गुरुङ समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक जीवनशैलीलाई संरक्षण गर्दै त्यसलाई आर्थिक समृद्धिको आधार बनाएको छ । 

    पर्यटनले संस्कृति जोगाउने मात्र होइन, गाउँमा रोजगारी सिर्जना गर्ने, कृषि उत्पादनको बजार विस्तार गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने माध्यमका रूपमा पनि आफूलाई स्थापित गरिरहेको छ । संस्कृति संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउने लमजुङको अभ्यास नेपालका अन्य ग्रामीण क्षेत्रका लागि पनि अनुकरणीय नमूनाका रूपमा स्थापित हुँदै गएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend