काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक र चितवनमा वित्तीय साक्षरता तथा शैक्षिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
बैंकको दोलालघाट शाखाले काभ्रेपलाञ्चोकस्थित दुलालेश्वर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बचतको महत्त्व, बैंकिङ सेवा, डिजिटल बैंकिङ, सुरक्षित वित्तीय कारोबार तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरेको जनाएको छ।
कार्यक्रमका अवसरमा विद्यालयका सबै कक्षाकोठाका लागि फ्यान तथा विद्यार्थीलाई आवश्यक स्टेसनरी सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
यस्तै, बैंकको चनौली शाखाले चितवनस्थित गुन्जानगर माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा विद्यार्थी तथा शिक्षकलाई बैंकिङ सेवाको उपयोग, नियमित बचतको महत्व, डिजिटल भुक्तानी प्रणाली र वित्तीय योजनाबारे जानकारी दिइएको थियो।
त्यसका साथै विद्यालयलाई स्टेसनरी तथा खेलकुद सामग्री प्रदान गरी विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोग गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी जानकारी व्यवहारिक र उपयोगी रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा बैंकले पुर्याएको सहयोगको प्रशंसा गरेका थिए।
सिन्धु विकास बैंकले आगामी दिनमा पनि समुदायको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच विस्तार तथा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।




.gif)





