काठमाडौँ, २९ असार । यातायात व्यवस्था विभागको EDLVRS प्रणालीमा प्राविधिक समस्या देखिएपछि ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) का अधिकांश सेवाहरू अस्थायी रूपमा बन्द भएका छन्।
कार्यालयले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म नयाँ आवेदन, वर्ग थप, लाइसेन्स नवीकरणलगायत अधिकांश सेवा स्थगित गरिएको जनाएको छ। विभागको सर्भरमा आएको अवरोधका कारण सेवा प्रवाह प्रभावित भएको हो।
यद्यपि, लाइसेन्स वितरण, दुईपाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरण तथा आज र भोलिका लागि निर्धारित लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने कार्यालयले स्पष्ट गरेको छ।
सेवाग्राहीलाई परेको असुविधाप्रति कार्यालयले क्षमायाचना गर्दै प्रणालीमा सुधार आउनेबित्तिकै सबै सेवा पुनः सञ्चालन गरिने जनाएको छ। साथै, थप जानकारीका लागि कार्यालयको आधिकारिक वेबसाइट वा सम्पर्क नम्बरमार्फत सूचना लिन आग्रह गरिएको छ।




.gif)





