तेल अभिभ । इजरायल सरकारले कब्जामा रहेको वेस्ट बैंकका ७० भन्दा बढी ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरू आफ्नो नियन्त्रणमा लिन करिब ११३ मिलियन शेकेल (झण्डै ३ करोड ७० लाख अमेरिकी डलर) बराबरको बजेट स्वीकृत गरेको छ ।यो निर्णय मंगलबार सरकारी सञ्चालन समितिले अनुमोदन गरेको हो। यसअघि मे महिनामा पनि वेस्ट बैंक, जोर्डन उपत्यका तथा अन्य क्षेत्रमा रहेका पुरातात्त्विक स्थलहरूलाई इजरायली नियन्त्रणमा ल्याउने उद्देश्यसहित २५० मिलियन शेकेल (करिब ८ करोड ३० लाख अमेरिकी डलर) को योजना स्वीकृत गरिएको थियो ।समितिका अनुसार बस्ती (सेटलमेन्ट) मन्त्रालयलाई १५७ मिलियन शेकेल प्रत्यक्ष बजेट उपलब्ध गराइनेछ भने थप १४२ मिलियन शेकेल बराबरका परियोजनाका लागि खर्च गर्ने अधिकार पनि दिइनेछ । यसै दिन इजरायली संसद क्नेसेटको वित्त समितिले पनि बस्ती मन्त्रालयका लागि झण्डै ३०० मिलियन शेकेल (करिब ९ करोड ९० लाख अमेरिकी डलर) बराबरको थप बजेट स्वीकृत गरेको छ ।
इजरायलका अर्थमन्त्री बेचालेल स्मोट्रिचले यस निर्णयलाई उच्चस्तरको जियोनिस्ट कार्य भन्दै ऐतिहासिक स्थलहरूमा नयाँ पर्यटक केन्द्र र अनुसन्धान केन्द्र निर्माण गरिने बताएका छन् । उनका अनुसार इतिहास र सांस्कृतिक सम्पदाको संरक्षण इजरायलका लागि महत्त्वपूर्ण छ । तर, प्यालेस्टिनी पक्षले भने यस योजनालाई कब्जा गरिएको भूमिमा इजरायली नियन्त्रण विस्तार गर्ने प्रयासका रूपमा आलोचना गरेको छ । प्यालेस्टिनी सञ्चारमाध्यमका अनुसार बेथलेहेम नजिक रहेको सोलोमनको पोखरीलगायत ऐतिहासिक स्थलहरू पनि यस योजनाको लक्ष्यमा पर्न सक्नेछन् ।सन् २०२२ यता इजरायलले आफ्नो कब्जामा रहेको वेस्ट बैंकमा १०४ वटा बस्ती र १६० वटा आउटपोस्ट बनाउने योजना स्वीकृत गरिसकेको बताइएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार कब्जामा रहेको वेस्ट बैंकमा इजरायली बस्तीहरू अवैध मानिन्छन् । यसैबीच, प्यालेस्टिनी स्रोतहरूका अनुसार सन् २०२६ को सुरुदेखि हालसम्म वेस्ट बैंकभर इजरायली बस्तीवासी र सुरक्षाकर्मीबाट ११ हजारभन्दा बढी आक्रमण तथा हिंसात्मक घटना भएका छन्, जसले क्षेत्रमा तनाव अझ बढाएको छ ।




.gif)



