काठमाडौँ, २४ साउन । पछिल्ला दिनमा नेपालमा खाना पकाउने एलपी ग्यासको आयात बढेसँगै बजारमा देखिएको ग्यास अभाव क्रमशः कम हुँदै गएको छ। नेपाल आयल निगमका अनुसार ७.१ किलोको आधा सिलिन्डरबाट पुनः १४.२ किलोको पूर्ण सिलिन्डरमा फर्किएपछि माग र आपूर्तिबीच केही समय असन्तुलन देखिए पनि अहिले आपूर्ति विस्तारै सहज बन्दै गएको हो।
निगमका एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार हाल इन्डियन आयल कर्पोरेसन (आईओसी)का रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट ग्यास लोड भएर नेपाल भित्रिइरहेका छन्। उहाँका अनुसार ७.१ किलोबाट १४.२ किलोको सिलिन्डरमा ‘सिफ्ट’ हुँदा उत्पन्न भएको समस्या बढीमा एक साताभित्र सामान्य हुने अपेक्षा गरिएको छ।
पश्चिम एसियामा विकसित परिस्थितिका कारण गत फागुन २९ गतेदेखि निगमले ७.१ किलो ग्यास भरिएको सिलिन्डर बिक्रीको व्यवस्था गरेको थियो। त्यस अवधिमा ग्यासको माग घटेपछि आयातमा समेत कमी आएको थियो। फागुन २९ देखि असार ३१ सम्म करिब चार महिनाको अवधिमा अघिल्लो नियमित खपतको तुलनामा ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको निगमको तथ्याङ्क छ।
नेपालमा मासिक करिब ४६ हजार मेट्रिक टन एलपी ग्यास खपत हुँदै आएको छ। उपभोक्ताले ७.१ किलोको आधा सिलिन्डरभन्दा १४.२ किलोको पूर्ण सिलिन्डर नै बढी रुचाएपछि असार ३१ गतेदेखि पूर्ण सिलिन्डर बिक्री पुनः सुरु गरिएको हो। पूर्ण सिलिन्डरको बिक्री सुरु भएपछि एकैपटक माग बढ्दा बजारमा अस्थायी अभाव देखिएको व्यवसायीको भनाइ छ।
साउनमा ५५ हजार मेट्रिक टनसम्म आयात हुने अनुमान
एलपी ग्यासको आयात पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएकोमा चालु आर्थिक वर्षको साउनका पहिलो २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन आयात भइसकेको निगमले जनाएको छ।
हालकै आयात दर कायम रहे चालु साउनमा करिब ५४ देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ। निगमका अनुसार यो परिमाण नियमित माग धान्नका लागि सकारात्मक अवस्था हो।
आगामी ठूला चाडपर्वका समयमा ग्यासको अभाव हुन नदिन सरकारले भारतसँग तीन महिनाका लागि आयात कोटा बढाउन कूटनीतिक पहलसमेत गरिरहेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रतिनिधिसभामा ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको बताएको उल्लेख छ ।
अनावश्यक सञ्चिती नगर्न आग्रह
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले आधा सिलिन्डर बिक्री हुँदा पछिल्ला चार महिनामा आयात केही घटे पनि अहिले आयातको परिमाण निरन्तर बढेकाले बजारमा ग्यासको उपलब्धता सहज बन्दै गएको बताएको छ।
उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गर्दै अत्यावश्यक पर्ने उपभोक्तालाई प्राथमिकता दिन अनुरोध गरेका छन्।
नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगमा कुल १० हजार १६६ मेट्रिक टन ग्यास भण्डारण क्षमता रहेको छ।
सरकारी अनुगमन तीव्र
ग्यासको बिक्री वितरण सहज बनाउन उद्योगमन्त्री यादवसहित नेपाल आयल निगमका उच्च अधिकारीले उद्योग तथा बिक्री केन्द्रको अनुगमनलाई तीव्रता दिएका छन्। शनिबार मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको निरीक्षण गरी बोटलिङ तथा वितरण प्रणालीबारे जानकारी लिईएको थियो।
त्यसपछि टोलीले टेकुस्थित निगम परिसरमा रहेका विभिन्न ग्यास बिक्री केन्द्रको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा ग्यास लिन पुगेका उपभोक्ताले छोटो समयमै ग्यास पाएको भन्दै सरकारप्रति धन्यवाद व्यक्त गरेका थिए।
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा कृत्रिम अभाव तथा कालोबजारी भएको नदेखिएको निगमले जनाएको छ।
५०० भन्दा बढी उपभोक्ता गुनासो सम्बोधन
ग्यासको सहज उपलब्धताका लागि निगममा गठन गरिएको ‘क्विक रेस्पोन्स टिम’ले हालसम्म ग्यास नपाएको भन्दै आएका ५०० भन्दा बढी उपभोक्ताको गुनासो सम्बोधन गरिसकेको छ।
वाणिज्य मन्त्रालय, नेपाल आयल निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासोका आधारमा तत्काल ग्यास उपलब्ध गराउन सहजीकरण गर्दै आएको छ।
टोलीका अनुसार तत्काल समस्या समाधान गरी उपभोक्ताको चुलोमा ग्यासको सुनिश्चितता गराउने उद्देश्यले गुनासो व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
आयात बढ्दै जानु, वितरण प्रणालीलाई थप व्यवस्थित बनाइनु र पूर्ण सिलिन्डरको आपूर्ति नियमित हुन थालेसँगै पछिल्ला दिनमा एलपी ग्यासको बजार अभाव क्रमशः हट्दै गएको देखिएको छ।




.gif)





