म्याग्दी, २७ साउन । म्याग्दीमा यस वर्ष आलु उत्पादन ५.३७ प्रतिशतले घटेको छ। आलु जिल्लाबाट बाहिर निर्यात हुने प्रमुख कृषि उपजमध्ये एक हो।
कृषि विकास कार्यालयका अनुसार यस वर्ष म्याग्दीमा १ हजार ८४० हेक्टर क्षेत्रफलमा ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको छ। गत वर्ष १ हजार ८२० हेक्टर क्षेत्रफलमा ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो।
कार्यालय प्रमुख सञ्जीव बास्तोलाका अनुसार खेतीको क्षेत्रफल २० हेक्टरले विस्तार भए पनि वैशाख र जेठमा परेको असिनाका कारण आलुको बोट हुर्किन र दाना बढ्न नपाउँदा उत्पादन घटेको हो। गत वर्ष प्रतिहेक्टर १९.५ मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष उत्पादकत्व घटेर १८ मेट्रिक टनमा झरेको छ।
कार्यालयले जिल्लाका विभिन्न २४ स्थानबाट नमुना सङ्कलन गरी आलु उत्पादनको अवस्था पहिचान गरेको जनाएको छ। आर्थिक वर्ष २०८०।८१ मा भने १ हजार ७५० हेक्टर क्षेत्रफलमा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो।
म्याग्दीबाट वार्षिक करिब १० करोड रुपैयाँ बराबरको आलु पोखरा, काठमाडौंलगायत बजारमा बिक्री हुने गरेको छ। किसानले बारीबाटै प्रतिकेजी औसत ४० देखि ४५ रुपैयाँमा आलु बिक्री गर्ने गरेका छन्।
रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीकी कृषक बलदेवी छन्त्यालले असिनाका कारण यस वर्ष उत्पादनमा ठूलो क्षति पुगेको बताएका छन्। उनका अनुसार असिनाले आलुको बोटका पात झारिदिँदा दाना ठूलो हुन र थप दाना लाग्न नसकेपछि उत्पादन घटेको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका शिख, खिबाङ, राम्चे, काफलडाँडा, नाङ्गी, हिस्तान र पाउद्वार तथा रघुगङ्गा गाउँपालिकाका कुइनेमङ्गले, दर्मिजा, चिमखोला र ठाडाखानीलगायत क्षेत्रमा आलु उत्पादन हुँदै आएको छ। बेनी नगरपालिकाको भकिम्ली क्षेत्रमा पनि व्यावसायिक आलुखेती हुने गरेको छ।
सडक तथा सवारीसाधनको पहुँच विस्तार भएसँगै गाउँमा उत्पादित आलुले बजार पाउन थालेको कार्यालयले जनाएको छ। गत वर्ष ३३ हेक्टर क्षेत्रफलमा खायन आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमअन्तर्गत कृषक समूह तथा सहकारीलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको कार्यालय प्रमुख बास्तोलाले जानकारी दिएका छन्।
म्याग्दीमा सञ्चालित आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाका वडा नं। ९ र १० मा आलुखेती विस्तारका लागि सहयोग गर्दै आएको छ।




.gif)





