images

२०८३ आश्विन २ गते

images
images
images

पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किए

पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किए

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। उपचारका लागि विदेश गएका देउवा आज दिउँसो काठमाडौं आइपुगेका हुन्।

    images
    images

    देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरू तथा ठूलो संख्यामा नेता–कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थलमा पूर्णबहादुर खड्का, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत नेताहरू उपस्थित थिए। देउवा विमानस्थलबाट निवास फर्कने क्रममा कांग्रेसका नेता–कार्यकर्ताले नाराजुलुससहित स्वागत गरेका थिए।

    स्वदेश फर्किएपछि अपिल जारी

    images
    images

    स्वदेश फर्किएलगत्तै देउवाले अपिल जारी गर्दै आफू नेपाल फर्कन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले आफू नेता बनेर मात्र नभई राष्ट्रको आजीवन नागरिकका रूपमा देशको सेवा गर्न फर्किएको उल्लेख गरेका छन्।

    देउवाले नेपाली कांग्रेस दशकौँको राजनीतिक संघर्षबाट स्थापित लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीलाई समयअनुकूल अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले युवा पुस्ताको आवाज र उनीहरूले चाहेको परिवर्तनलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका छन्।

    उनले पछिल्लो समय विश्व तथा समाज परिवर्तन भइरहेको भन्दै कांग्रेस पनि समयको गतिसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। युवा पुस्ताले उठाएका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले यसअघि नै राख्दै आएको उनको भनाइ छ।

    अनुभव नयाँ पुस्तासँग बाँड्ने प्रतिबद्धता

    देउवाले आफूले अब राजनीतिक रूपमा व्यक्तिगत रूपमा लिनुपर्ने केही नरहेको उल्लेख गर्दै आफ्नो लामो राजनीतिक अनुभव मुलुक र पार्टीले उपयोग गर्न सक्ने बताएका छन्। नयाँ पुस्तासँग आफ्नो अनुभव बाँड्नु आफ्नो दायित्व भएको उनको भनाइ छ।

    पार्टीका नेता–कार्यकर्ता निराश रहेको अवस्थामा उनीहरूको मनोबल बढाउन र पार्टीभित्रको भावनात्मक एकता पुनः कायम गर्नुपर्ने समय आएको पनि देउवाले बताएका छन्।

    उनले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सर्वपक्षीय एकताको आवश्यकता रहेको उल्लेख गरेका छन्। विगतमा बीपी कोइराला निर्वासनबाट नेपाल फर्किएको प्रसङ्ग स्मरण गर्दै देउवाले अहिले पनि राष्ट्रिय एकताका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

    संविधान र कानुन पालना गर्ने प्रतिबद्धता

    देउवाले आफूले जीवनभर राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गरेका छन्। उनले कानुन र नीतिविपरीत कुनै काम नगरेको उल्लेख गर्दै आफ्नो जीवन खुला किताबजस्तै रहेको बताएका छन्।

    उनले आगामी दिनमा पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित तथा संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    स्वास्थ्य उपचारपछि देउवाको स्वदेश फिर्तीसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीतिक गतिविधिमा समेत उनको उपस्थितिले नयाँ प्रभाव पार्ने अपेक्षा गरिएको छ। पार्टीको नेतृत्व, संगठन सुदृढीकरण, युवा पुस्तासँगको सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा देउवाको आगामी भूमिकालाई कांग्रेसभित्र र बाहिर चासोका साथ हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend