वासिङ्टन–तेहरान । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वकै महत्त्वपूर्ण जलमार्गमध्ये एक ‘स्ट्रेट अफ हर्मुज’लाई “छिट्टै” अमेरिकी क्षेत्र बनाउने घोषणा गरेका छन्। इरानलाई युद्ध अन्त्य गर्न बाध्य पार्ने उद्देश्यसहित आर्थिक दबाब बढाउने रणनीति अन्तर्गत ट्रम्पले यस्तो विवादास्पद दाबी गरेका हुन्।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले मध्यपूर्वमा जारी तनाव थप चर्किने संकेत देखिएको छ। स्ट्रेट अफ हर्मुज विश्वव्यापी कच्चा तेल आपूर्तिको प्रमुख मार्ग भएकाले यसको सुरक्षासँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारसमेत प्रत्यक्ष प्रभावित हुने गर्छ। उक्त जलमार्गमा इरानको रणनीतिक प्रभाव रहँदै आएको छ।
इरानको कडा जवाफ
ट्रम्पको अभिव्यक्तिको प्रतिवाद गर्दै इरानका उपपरराष्ट्र मन्त्री काजेम घारीबाबादीले स्ट्रेट अफ हर्मुजमाथि इरानको दाबी कायम रहने बताएका छन्। उनका अनुसार अमेरिकाले आफ्नो हार स्वीकार नगरेसम्म जलमार्गमा नाकाबन्दी तथा नियन्त्रण जारी रहनेछ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराक्चीले ‘इस्लामावाद समझदारी’ उल्लेख गर्दै अमेरिकाले उक्त सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। उनका अनुसार सम्झौता केवल युद्धविराममा सीमित नभई युद्धको अन्त्यका लागि भएको थियो। तर अमेरिकाको व्यवहारका कारण पुनः द्वन्द्व सुरु भएको उनको दाबी छ।
अराक्चीले अब कुनै ६० दिने युद्धविरामको अवधि बाँकी नरहेको समेत स्पष्ट पारेका छन्।
सैन्य दबाबपछि आर्थिक युद्धमा जोड
राजनीतिक विश्लेषकहरूका अनुसार अमेरिकाले इरानविरुद्धको रणनीतिमा परिवर्तन गर्दै सैन्य दबाबसँगै आर्थिक नाकाबन्दीलाई प्राथमिकता दिन थालेको छ। लामो समयदेखि जारी सैन्य दबाबले अपेक्षित परिणाम दिन नसकेपछि वासिङ्टनले आर्थिक प्रतिबन्धलाई थप प्रभावकारी हतियारका रूपमा प्रयोग गर्न खोजेको विश्लेषण गरिएको छ।
स्टिम्सन सेन्टरका राष्ट्रिय सुरक्षा सुधार कार्यक्रमका निर्देशक ड्यान ग्रेजियरका अनुसार इरानले लामो समयदेखि अमेरिकी प्रतिबन्धको सामना गर्दै आएको छ। त्यसैले आर्थिक दबाब मात्र प्रयोग गरेर इरानलाई आफ्नो नीतिबाट पछि हटाउन कठिन हुन सक्ने उनको भनाइ छ।
ग्रेजियरले अमेरिकी सैन्य स्रोतमा समेत दबाब परेको हुन सक्ने बताएका छन्। उनका अनुसार उपलब्ध प्रमाणले अमेरिकासँग लामो दूरीका क्षेप्यास्त्रको भण्डारमा कमी आउन थालेको संकेत गर्छ। विश्वका अन्य क्षेत्रमा पनि अमेरिकी सुरक्षा जिम्मेवारी रहेकाले सबै सैन्य स्रोत इरानमा मात्र केन्द्रित गर्न अमेरिका इच्छुक नहुन सक्ने उनको विश्लेषण छ।
‘यसअघि कहिल्यै नदेखिएको’ प्रतिबन्धको तयारी
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानविरुद्ध “यसअघि कहिल्यै नदेखिएको” कडा तथा दण्डात्मक आर्थिक कदम चालिने बताएका छन्। अमेरिकाले सैन्य दबाबसँगै आर्थिक नाकाबन्दीलाई पनि रणनीतिक हतियारका रूपमा अघि बढाएको देखिएको छ।
इरानले लामो समयदेखि आफूविरुद्ध लगाइएका अमेरिकी प्रतिबन्ध हटाउन वार्तामार्फत समाधान खोज्दै आएको भए पनि ठोस प्रगति हुन सकेको छैन। ट्रम्पको पछिल्लो अभिव्यक्ति, स्ट्रेट अफ हर्मुजलाई लिएर गरिएको दाबी तथा थप आर्थिक प्रतिबन्धको चेतावनीले अमेरिका–इरान सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ।
स्ट्रेट अफ हर्मुजमा उत्पन्न हुने कुनै पनि अवरोधले विश्वव्यापी तेल आपूर्ति, ऊर्जा मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले आगामी दिनमा अमेरिका र इरानबीचको तनावलाई विश्व समुदायले समेत नजिकबाट नियालिरहेको छ।




.gif)





