काठमाडौँ । नेपालको बीमा क्षेत्रको व्यवसाय गत आर्थिक वर्षमा करिब १३ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन १२.९१ प्रतिशतले बढेको हो । १४ वटा जीवन र १४ निर्जीवन बीमा कम्पनीहरुलेग गत आर्थिक वर्ष २०८२/०८३ मा कुल २ खर्ब ५६ अर्ब ५१ करोड ९५ लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो अघिल्ले आवको भन्दा १२.९१ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बीमा कम्पनीहरूले कुल २ खर्ब २७ अर्ब १८ करोड ५९ लाख ५४ हजार रुपैयाँको व्यवसाय गरेका थिए । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले मात्र २ खर्ब ४ करोड ५९ लाख ७१ हजार १०० रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा १२.२५ प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख ४७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
यो अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१ अर्ब ९२ करोड २४ लाख २८ हजार रुपैयाँ बीमा व्यवसाय गरेका छन् । जुन अघिल्लो आवको भन्दा १५.६१ प्रतिशतले धेरै हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले कुल ४४ अर्ब ९१ करोड २६ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । आव २०८२/०८३ कुल सक्रिय जीवन बीमालेखको संख्या उल्लेख्य रूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या तुलनात्मक रूपमा कम देखिएको छ । जीवन बीमा कम्पनीहरूमा आव २०८२/०८३ १ करोड ६७ लाख ९२ हजार २३० वटा सक्रिय जीवन बीमालेको संख्या रहेको छ । यो संख्या अघिल्लो आवको तुलनामा ७.४३ प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूमा कुल १ करोड ५६ लाख ३० हजार ९९९ वटा सक्रिय जीवन बीमालेखको संख्या रहेको थियो ।
प्राधिकरणका अनुसार आव २०८२/०८३ जीवन बीमा कम्पनीहरूमा कुल जारी बीमालेखको संख्या भने ७९ लाख ५३ हजार ३२ रहेको छ । यो संख्या अघिल्लो आवको तुलनामा १२.८६ प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूमा जारी बीमालेखको संख्या ७० लाख ५६ हजार ५८० रहेको थियो । कुल निर्जीवन बीमालेखको संख्या भने पछिल्लो अवधिमा ३४ लाख ६७ हजार १६७ वटा पुगेको छ । यो संख्या अघिल्लो आवको तुलनामा ६.८७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कुल निर्जीवन बीमालेखको संख्या ३२ लाख ४४ हजार ३८३ रहेको थियो ।प्राधिकरणका अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या भने ५०.०४ प्रतिशत पुगेको छ । यो संख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित हो । यो संख्या अघिल्लो आवमा ३.७१ प्रतिशतले बढी हो । अघिल्लो आवमा बीमाको दायरामा आएको कुल जनसंख्या ४८.३३ प्रतिशत रहेको थियो ।




.gif)





