काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख ठुला नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा जलसतह सामान्य अवस्थामै छ।
प्रमुख नदीहरूमा जोखिम कम देखिए पनि आज देशका विभिन्न २६ जिल्ला भई बहने स-साना नदीहरूमा भने बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र धादिङका साना नदीमा बाढीको सम्भावना छ। त्यसैगरी गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपासका जिल्ला भएर बहने स-साना नदीहरूमा पनि जलसतह बढेर आकस्मिक बाढी आउन सक्ने पूर्वानानुमान छ।
महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। पर्सि भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स-साना नदीहरूमा बहाव अचानक बढ्ने सम्भावना रहेको छ।





.gif)





