images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • ट्रम्पले हर्मुजलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेपछि...

ट्रम्पले हर्मुजलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेपछि मध्यपूर्वमा तनाव चुलियो

ट्रम्पले हर्मुजलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेपछि मध्यपूर्वमा तनाव चुलियो

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्गमध्ये एक हर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा चित्रित गरेपछि मध्यपूर्वको भू–राजनीतिक तनाव थप चुलिएको छ।

    images
    images

    ट्रम्पले अगस्ट १८ मा आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा हर्मुज जलडमरूमध्यको नक्सा सार्वजनिक गर्दै त्यसमा ‘नयाँ अमेरिकी क्षेत्र’लेखिएको तस्बिर पोस्ट गरेका थिए। नक्सामा जलडमरूमध्यको ठूलो भागलाई घेराभित्र देखाइएको थियो।

    यसअघि अगस्ट १४ मा न्यूयोर्कमा आयोजित कार्यक्रममा ट्रम्पले हर्मुज जलडमरूमध्यलाई अमेरिकाको क्षेत्र घोषणा गर्ने बताएका थिए। उनले जलमार्गमाथि अमेरिकी नौसैनिक नाकाबन्दीका कारण अमेरिकाले यसको आवागमन नियन्त्रण गरिरहेको दाबीसमेत गरेका थिए।

    images
    images

    हर्मुज जलडमरूमध्य विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख मार्ग हो। सामान्य अवस्थामा विश्वको समुद्रीमार्गबाट हुने तेल आपूर्तिको करिब पाँचौँ हिस्सा यही जलमार्ग हुँदै आवतजावत गर्छ। त्यसैले यहाँको कुनै पनि सैन्य वा राजनीतिक अवरोधले विश्व बजारमा तेलको मूल्य, ढुवानी लागत र ऊर्जा सुरक्षामा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

    अमेरिका र इरानबीच लामो समयदेखि जारी सैन्य तथा राजनीतिक तनावका बीच ट्रम्पको पछिल्लो अभिव्यक्तिले विवादलाई थप गम्भीर बनाएको छ। हर्मुजको नियन्त्रण र जलमार्ग खुलाउने विषय अमेरिका–इरान वार्ताको प्रमुख विवादित विषयमध्ये एक बन्दै आएको छ।

    ट्रम्पको घोषणाप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ। इरानी अधिकारीहरूले हर्मुजमाथि अमेरिकी स्वामित्वको दाबीलाई अस्वीकार गर्दै ट्रम्पको अभिव्यक्तिलाई भ्रमपूर्ण भन्दै आलोचना गरेका छन्। जवाफस्वरूप इरानको एक आधिकारिक सामाजिक सञ्जाल खाताले अमेरिकी राज्य क्यालिफोर्नियालाई नै ‘इरानको नयाँ क्षेत्र’का रूपमा चित्रित गरेको नक्सा सार्वजनिक गरेको थियो।

    यसैबीच हर्मुजमा जहाजको आवतजावतसमेत प्रभावित भएको छ। पछिल्ला महिनामा तनाव बढेसँगै जलमार्ग हुँदै जाने ट्याङ्कर तथा व्यापारिक जहाजको संख्या उल्लेख्य रूपमा घटेको रिपोर्टहरू आएका छन्। अगस्ट २२ मा भने इरानले केही इराकी तेल ट्याङ्करलाई हर्मुज हुँदै आवतजावत गर्न विशेष अनुमति दिएको जनाएको छ।

    हर्मुजमा तनाव लम्बिँदै गए विश्वव्यापी तेल तथा ग्यास आपूर्ति, समुद्री व्यापार र ढुवानी लागतमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ। ऊर्जा आपूर्तिमा निर्भर एसियाली मुलुकहरूका लागि यसको प्रभाव अझ गम्भीर हुनसक्ने विश्लेषण गरिएको छ।

    ट्रम्पको ‘नयाँ अमेरिकी क्षेत्र’ सम्बन्धी अभिव्यक्ति हालसम्म औपचारिक रूपमा कार्यान्वयन गरिएको भू–क्षेत्रीय अधिग्रहणभन्दा बढी राजनीतिक तथा रणनीतिक दाबीका रूपमा देखिएको छ। तर, हर्मुजमा अमेरिकी नाकाबन्दी, इरानको प्रतिरोध र कमजोर बन्दै गएको कूटनीतिक संवादका कारण यो विवादले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व अर्थतन्त्रमा थप अनिश्चितता सिर्जना गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend