काठमाडौँ । नेपाल चीन सिमानाको कोरला नाका हुँदै भित्रिएको आठ वटा कन्टेनर मध्ये ६ वटा कन्टेनर छाडिएको छ । साउन ३० मा प्रहरीले मुस्ताङको सदरमुकाम जोमसोमबाट शङ्कास्पद कन्टेनर नियन्त्रणमा लिएको थियो ।राजस्व अनुसन्धान विभागले अनुसन्धानपछि ६ वटा कन्टेनर छाडेको हो । भन्सार जाँच पास प्रमाणीकरण भएर आएको भेटिएपछि ६ वटा कन्टेनरलाई सम्बन्धित आयातकर्ताको जिम्मा लगाइएको राजस्व अनुसन्धान विभागका निमित्त महानिर्देशक नरेन्द्र प्रकाश पाण्डेयले जानकारी दिए । शङ्का लागेर प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरमा रोल कपडा, प्लास्टिकका भाँडाकुँडा र पासिङ मेशिनको कभर जस्ता सामान ल्याएको भेटिएको छ ।
दुई वटा कन्टेनरमा ‘ड्रेस मेकिङ फेब्रिक’ आयात गरेको र आयातकर्ताले ६७ लाख भन्सार बुझाएको कागजात पेस गरेको निमित्त महानिर्देशक पाण्डेयेले रातोपाटीलाई बताए । उनले भने– ‘मुस्ताङबाट ल्याइएका ६ वटा कन्टेनरमा शङ्कास्पद सामान भेटिएन, भन्सार तिरेर आएको भेटिएको छ ।’ प्लास्टिकको सामान आयातकर्ताले ३६ लाख रुपैयाँ भन्सार तिरेको भेटिएको छ ।दुई वटा कन्टेनर अनुसन्धानको प्रक्रियामा रहेको पाण्डेयले बताए । विभागका अनुसन्धान अधिकृतहरूले दुई वटा कन्टेनरको प्रज्ञापन पत्र र सामान जाँच गर्ने काम गरिरहेका छन् । ती सामान बेसमार्क इन्टरनेसनल, मार्फा र काइजेन इन्टरनेसनलले आयात गरेका हुन् ।प्रहरीले नियन्त्रणमा लिएर पठाएको कन्टेनरहरुमा बा प्र ०१–००५ ख २२४५, बा प्र ०१–००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा प्र ०१–००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१–००६ ख ६६११ नम्बरका रहेका थिए ।
नेपाल–चीन उत्तरी कोरला नाका गत वर्ष भदौ ३१ गते पूर्ण रूपमा सञ्चालनमा आएयता अवैध रूपमा ओसारपसार गर्ने मालवाहक कन्टेनरहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाइँदै आइएको छ । यसअघि आर्थिक वर्ष २०८२/८३ को पुस ९ गते कोरला नाकाबाट भित्र्याइएको दुई करोड २४ लाख मूल्य बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो ।त्यस्तै सोही आर्थिक वर्षको जेठ २ गते पनि लुकाएर ल्याइएका २० हजार थान विद्युतीय चुरोट सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।




.gif)





