काठमाडौँ । रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धार कार्यमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । प्राधिकरणले बुधबार विशेष अनुरोध जारी गर्दै विपद्मा परेकाहरूको खोज तथा उद्धारका लागि वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सबै सङ्घसंस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी सहयोग गर्न आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार बाढी प्रभावित जिल्लाहरूमा खोज तथा उद्धारको काम जारी छ। उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूलाई आफू रहेको स्थानमा आगो बाली धुवाँ निकालेर सङ्केत गर्नसमेत आग्रह गरिएको छ । बाढीका कारण नदी तटीय क्षेत्रमा जोखिम बढेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका आपत्कालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।
उद्धार आवश्यक परेमा सम्बन्धित जिल्लाका प्रशासन तथा सुरक्षा निकायसँग सम्पर्क गर्न र तत्काल सहयोग आवश्यक भएमा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको ११४४ तथा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ । बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले भोटेकोसी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । प्राधिकरणकी उपसचिव तथा प्रवक्ता शान्ति महतले जारी गरेको सूचनामा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्राथमिकता दिँदै आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।




.gif)





