काठमाडौँ । सरकारले विपद्को समयमा फैलाइएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान जानकारी दिँदै अबदेखि सरकारले हरेक एक घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको बताएका छन्।विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भई नागरिकमा त्रास फैलिएको गुनासो आएपछि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) मार्फत प्रत्येक घण्टा प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो। उक्त विज्ञप्तिमा राहत वितरणको अवस्था, जनशक्ति परिचालन, सवारी साधन तथा सामग्रीको उपलब्धता र वितरणको पछिल्लो विवरण समावेश गरिने प्रमुख पौडेलले जानकारी दिएका छन्।
‘हामी मिडियासँग पनि निरन्तर सम्पर्कमा रहन्छौँ’, पौडेलले भने, ‘त्यसैले आधिकारिक निकायबाट सम्प्रेषित सूचनालाई मात्र आधार मान्न हामी आम नागरिकमा अनुरोध गर्दछौँ।’संकटको यस घडीमा सरकारको आलोचना गर्नुभन्दा पनि मानवीय जीवन रक्षालाई प्राथमिकता दिन पौडेलले सबै पक्षलाई आह्वान गरेका छन्। उनले निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, आमा समूह र महिला समूहहरूलाई जिम्मेवार भएर सहयोगमा जुट्न आग्रह गरेका छन्।अहिलेको मुख्य प्राथमिकता नागरिकको जिउज्यान बचाउनु रहेको उनको भनाइ छ। भौतिक सम्पत्तिको क्षतिको अध्ययन भने पोस्ट डिजास्टर निड्स एसेसमेन्ट (पीडीएनए) तथा अन्य माध्यमबाट पछि गरिने पौडेलले स्पष्ट पारेका छन्। सरकारले यस संकटपूर्ण समयमा सकारात्मक र सहयोगी भावनाका साथ विपद् व्यवस्थापनमा जुट्न सम्पूर्ण नेपालीहरूमा अपिलसमेत गरेको छ।




.gif)



