काठमाडौं, १२ भदौ । रसुवा, नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १२१ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डले शुक्रबार जारी गरेको स्थिति विवरण (अपडेट–६) अनुसार भदौ १० गते बुधबार आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका विदेशी पर्यटकको सुरक्षा अवस्था पहिचान तथा उद्धारका लागि सरकारी निकाय र पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला संस्था निरन्तर परिचालन भइरहेका छन्।
बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका तथा घाइते पर्यटकसँगै स्थानीय नागरिकको उद्धार कार्यसमेत तीव्र पारिएको बोर्डले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी तथा सम्बन्धित पर्यटन व्यवसायी र सरोकारवाला निकायको समन्वयमा खोजी तथा उद्धार कार्य सञ्चालन भइरहेको छ।
बोर्डका अनुसार शुक्रबार अपराह्न ३ः३० बजेसम्म उद्धार गरिएका १२१ विदेशी नागरिकमध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ र ९ जना दक्षिण कोरियाली नागरिक रहेका छन्।
त्यस्तै, उद्धार गरिएका पर्यटकमध्ये अमेरिका, रुस र इटालीका दुई–दुई जना तथा बुल्गेरिया र स्विट्जरल्याण्डका एक–एक जना नागरिक रहेका छन्। उद्धार गरिएका थप तीन जना पर्यटकको नागरिकता भने खुल्न बाँकी रहेको पर्यटन बोर्डले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा कतिपय पर्यटक अलपत्र परेको तथा केहीलाई तत्काल उद्धार र स्वास्थ्य सहायताको आवश्यकता रहेकाले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइएको छ।
पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका तथा सहायता आवश्यक परेका विदेशी पर्यटकलाई आपत्कालीन अवस्थामा सम्पर्क गर्न सकिने सहायता नम्बरसमेत सार्वजनिक गरेको छ।
पर्यटकले टोल–फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटन प्रहरीको मोबाइल नम्बर ९८५१२८९४४५ मा सम्पर्क गरी आवश्यक सहयोग लिन सक्ने बोर्डले जनाएको छ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, सडक तथा पुललगायतका संरचनामा क्षति पुर्याउनुका साथै पर्यटकको आवागमनसमेत प्रभावित बनाएको छ। प्रभावित क्षेत्रमा सम्पर्क तथा यातायातका साधन अवरुद्ध भएका कारण पर्यटकको अवस्थाबारे जानकारी संकलन र उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
सम्बन्धित निकायले प्रभावित क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पर्यटकको अवस्थाबारे जानकारी संकलन गर्दै उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्। पर्यटन बोर्डले पर्यटकको सुरक्षा तथा उद्धारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक समन्वय भइरहेको जनाएको छ।





.gif)





