काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट करिब ४ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्रारम्भिक विवरणअनुसार बाढीबाट ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो । विस्तृत क्षतिको विवरण संकलन तथा मूल्याङ्कनको काम भने जारी रहेको उनले बताएका छन्।
बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कनसँगै प्रभावित क्षेत्रमा आगामी चार महिनाभित्र प्रारम्भिक पुनःस्थापना कार्यका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
प्राधिकरणका अनुसार उक्त रकम भवन तथा बस्ती पुनःस्थापना, सञ्चार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशुपालन र ऊर्जा क्षेत्रको पुनःस्थापनामा खर्च हुने अनुमान छ ।
डा. उप्रेतीले बाढीबाट प्रभावित विभिन्न क्षेत्रको अवस्थाका आधारमा पुनःस्थापनाको आवश्यकता पहिचान गरिएको बताउँदै विस्तृत क्षतिको विवरण प्राप्त भएपछि आवश्यक बजेटको थप यकिन हुने जानकारी दिएका छन्।
रसुवामा आएको बाढीले भौतिक संरचना, बस्ती, सञ्चार, खानेपानी, ऊर्जा, कृषि तथा अन्य क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा तत्काल राहतसँगै पूर्वाधार पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ ।
प्राधिकरणले क्षतिको विस्तृत मूल्याङ्कन तथा प्रभावित क्षेत्रको आवश्यकताका आधारमा पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ ।




.gif)





