वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच फोनमा कुराकानी भएको छ । अमेरिकाले युक्रेनमा जारी युद्ध अन्त्यका लागि शान्ति सम्झौताको प्रयास तीव्र पारिरहेका बेला दुई नेताबिच करिब एक घण्टा कुराकानी भएको हो । पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले मंगलबार ट्रम्प र पुटिनबिच भएको कुराकानीलाई रचनात्मक र निकै खुला रहेको बताएका छन् । उशाकोभका अनुसार कुराकानीमा युक्रेनमा जारी युद्ध तथा युद्धभूमिमा रुसले आफ्ना सैन्य लक्ष्य अघि बढाउने योजनाबारे छलफल भएको थियो ।
पुटिनले जारी युद्धको अवस्था, युद्धभूमिमा आगामी सम्भावित प्रगति तथा रुसले तय गरेका सैन्य लक्ष्य र कार्यहरू हासिल गर्ने विषयमा विस्तृत विश्लेषण प्रस्तुत गरेको उनले बताए । फोनवार्ताका क्रममा पुटिनले रुसले युरोपका देशहरू, विशेषगरी नेटो सदस्य राष्ट्रहरूमाथि भविष्यमा आक्रमण गर्न सक्ने भन्ने बढ्दो चिन्तालाई पनि अस्वीकार गरेको उशाकोभले बताए । उनका अनुसार पुटिनले रुससँग युरोपविरुद्ध कुनै आक्रामक योजना नरहेको स्पष्ट पारेका थिए ।यस फोनवार्ताबारे ह्वाइट हाउससँग प्रतिक्रिया मागेपनि तत्काल प्रतिक्रिया प्राप्त नभएको अल जजीराले एउटा समाचारमा भनेको छ । ट्रम्प र पुटिनबिचको फोनवार्ता अमेरिकी विशेष दूत जारेड कुशनर र स्टिभ विट्कफले रुस तथा युक्रेनमा उच्चस्तरीय भेटवार्ता गरेको केही दिनपछि भएको हो । कुशनर र विट्कफले पुटिनसँग छुट्टाछुट्टै भेट गरेका थिए भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि छलफल गरेका थिए । ती भेटवार्तामा ट्रम्पले युद्ध अन्त्य गर्ने प्रस्तावका रूपमा वर्णन गरेको योजनाबारे छलफल भएको थियो ।
उशाकोभका अनुसार फोनवार्ताका क्रममा ट्रम्प र पुटिनले अमेरिकी विशेष दूतहरूको हालैका भ्रमणबाट प्राप्त परिणामबारे पनि विचार आदानप्रदान गरेका थिए । उनले ती भेटवार्तामा केही निकै राम्रा र उपयोगी विचार प्रस्तुत भएको बताए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी दूतहरू युक्रेन पुगेकोमा ट्रम्पप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले युद्ध अन्त्य गर्न सकिने सबै प्रयास गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको बताएका थिए ।रुस, युक्रेन र अमेरिकाका अधिकारीहरूले विशेष दूतहरूको भेटवार्तालाई सकारात्मक रूपमा प्रस्तुत गरे पनि युद्ध अन्त्य गर्ने विषयमा कुनै निर्णायक प्रगति भएको देखिएको छैन । वार्ताका लागि सप्ताहन्तमा केही समयका लागि भएको छोटो युद्धविरामपछि रुस र युक्रेनले पुनः एकअर्काविरुद्ध आक्रमण सुरु गरेका थिए । मंगलबार बिहान युक्रेनी अधिकारीहरूका अनुसार रुसी आक्रमणमा राजधानी किभमा कम्तीमा पाँच सर्वसाधारणको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।
त्यसैगरी, रुसी अधिकारीहरूले ब्रायान्स्क र कुस्र्क क्षेत्रमा भएका आक्रमणमा तीन जनाको मृत्यु र १३ जना घाइते भएको बताएका छन् । स्थानीय अधिकारीहरूका अनुसार रुसले कब्जा गरेको क्रिमियामा भएका युक्रेनी आक्रमणमा पनि करिब पाँच जनाको मृत्यु भएको थियो । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध अन्त्य गर्नु ट्रम्पको दोस्रो कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक बनेको छ । राष्ट्रपति निर्वाचन अभियानका क्रममा ट्रम्पले आफूले २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने सम्झौता गराउन सक्ने दाबी गरेका थिए । पछि उनले उक्त दाबीलाई अतिशयोक्ति भने ।




.gif)





