नुवाकोट, २६ भदौ । भोटेकोशी नदीमा आएको बाढीले देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि अवरुद्ध भएको नुवाकोट–धादिङ–रसुवागढी सडक सम्पर्क पाँच दिनमै पुनः जोडिएको छ । नेपाली सेनाले विदुर र बेलकोटगढी नगरपालिका जोड्ने स्थानमा ५७.९ मिटर लामो एक्रोब्रिज निर्माण गरी बिहीबार बेलुकादेखि सञ्चालनमा ल्याएको हो ।
भदौ १० गतेको बाढीले पुल बगाएपछि दुई नगरपालिकाबीचको आवागमनसँगै पृथ्वीराजमार्ग तथा रसुवागढीतर्फको यातायात सम्पर्कसमेत प्रभावित भएको थियो । पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा मालवाहक सवारीसाधनलाई लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
बेलकोटगढी नगरपालिका–८ का सौगात पुडासैनीका अनुसार पुल नहुँदा गाउँ पुग्न दुईदेखि तीन घण्टासम्म लाग्ने गरेकोमा अहिले करिब २५ मिनेटमै घर पुग्न सकिने भएको छ । यसले स्थानीयको दैनिक आवागमनसँगै कृषि उपज, निर्माण सामग्री तथा अन्य वस्तुको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।
“बाढीले पुल बगाएपछि नजिकैको गाउँघर पुग्न पनि कठिन भएको थियो । छोटो समयमा पुल निर्माण भएपछि केही राहत महसुस भएको छ,” पुडासैनीले भन्नुभयो ।
बेलकोटगढी–८ का मनोज तामाङले पनि पुल निर्माणपछि बाढीका कारण प्रभावित भएको जनजीवनमा आशा पलाएको बताएका छन् ।
७२ घण्टे कार्यअवधिमा निर्माण
नेपाली सेनाले भदौ २० गतेदेखि देवीघाटमा एक्रोब्रिज निर्माण सुरु गरेको थियो । निर्माण कार्य पाँच दिनभित्र सम्पन्न भए पनि वास्तविक कार्यअवधि करिब ७२ घण्टा मात्र रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका रथी रञ्जित थापाका अनुसार ५५ जना प्राविधिकलाई दिनरात परिचालन गरेर पुल निर्माण गरिएको हो । रणनीतिक रूपमा महत्वपूर्ण सडकखण्डमा पर्ने भएकाले तत्काल यातायात सञ्चालनमा ल्याउन प्राथमिकताका साथ काम गरिएको उनले बताएका छन् ।
पुलको प्राविधिक परीक्षण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । ६० टन भारवहन क्षमता रहेको एक्रोब्रिज अमेरिकी प्रविधिमा आधारित भएकाले गुणस्तरीय तथा तुलनात्मक रूपमा उच्च भारवहन क्षमताको रहेको नेपाली सेनाले जनाएको छ ।
व्यापार र ढुवानी लागत घट्ने अपेक्षा
देवीघाटको पुल सञ्चालनमा आएपछि नुवाकोटका विभिन्न क्षेत्रबाट धादिङ, काठमाडौँ तथा रसुवागढीतर्फ हुने आवतजावत र मालसामानको ढुवानी सहज हुने भएको छ । यसले बाढीपछि बढेको यात्रा समय तथा ढुवानी खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका अनुसार बाढीले देवीघाटको करिब ५५ मिटर लामो बक्सगडर पुल भत्काएको थियो । सोही स्थानमा एक्रोब्रिज जडान गर्न सहज भएको योजनाका प्रमुख कृष्णनाथ ओझाले बताएका छन् ।
उनका अनुसार रातोमाटे क्षेत्रमा केही सडक कटिङ तथा मर्मतको काम बाँकी रहे पनि त्यसलाई तत्काल सम्पन्न गरी सडकलाई पूर्ण रूपमा सहज बनाउने तयारी गरिएको छ ।
रणनीतिक जगेडा पुल प्रयोग
नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले एक्रोब्रिज जडान गरेको हो । सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेडा पुल देवीघाटमा ल्याएर फिटिङ गरी सञ्चालनमा ल्याइएको बाहिनीपति जगदीश खड्काले बताएका छन् ।
प्राकृतिक विपत्तिका कारण महत्वपूर्ण सडक तथा पुलमा क्षति पुग्दा तत्काल यातायात सम्पर्क पुनःस्थापित गर्न रणनीतिक जगेडा पुल उपयोगी देखिएको छ ।
विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले छोटो समयमै पुल निर्माण भएपछि पृथ्वीराजमार्गसँग टुटेको सडक सम्पर्क पुनःस्थापित भएको बताएका छन् । स्थानीय तहले निर्माणका क्रममा आवश्यक समन्वय र सहकार्य गरेको उनले जानकारी दिएका छन् ।
पुल सञ्चालनमा आएसँगै नुवाकोटका स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै कृषि तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, स्थानीय व्यापार र निर्माण गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने देखिएको छ । बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई तत्काल वैकल्पिक संरचनामार्फत सञ्चालनमा ल्याउने यो कामले विपद्पछिको आर्थिक गतिविधि पुनःसञ्चालनमा पूर्वाधारको महत्त्वसमेत देखाएको छ ।




.gif)





